एटीएम ह्याक गरी रकम निकाल्ने चिनियाँ गिरोहको नयाँ तथ्य भेटियो

काठमाडौं । गत शनिबार नेपालका विभिन्न बैंकका एटीएम ह्याक गरी झण्डै २ करोड रुपैयाँ निकाल्ने चिनियाँहरुको गिरोह ८ जनाको रहेको पत्ता लागेको छ ।

ती मध्ये ६ जना पक्राउ परेका छन् भने २ जनाको खोजी भईरहेको छ । एटीएम ह्याकिङमा नेपालीहरुको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । 

चिनियाँ ह्याकरहरुको गिरोह मध्ये ४ जना यही भदौ १३ गते दिउँसो ३ बजेर ३३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हामीलाई प्राप्त सीसीटीभी फुटेजमा देखिन्छ । चाइना एअरको बिमानबाट ओर्लिएका उनीहरु यसरी अध्यागमनमा पुगेको देखिन्छ ।

एउटै उडानबाट आएका लिन चियानमङ, छिउ युनछिङ, छेन पिनपिन र चु लियाङकाङ अध्यागमनबाट निस्केपछी बिमानस्थलको बाहिर पालैपालो गरी एकै ठाउँमा भेला भएको देखिन्छ ।

त्यसपछि उनीहरु एयरपोर्टको पार्किङमा गएको देखिन्छ । उनीहरु बिमानस्थलबाट हात्तीसारस्थित माया मनोहर बुटिक होटलमा गई चारवटा कोठा लिएर बसेका थिए । जुन उनीहरुले सी ट्रीप अनलाइन मार्फत बुक गरेका थिए ।

गिरोहका आठै जना यही होटलमा बसेको पनि थाहा भएको छ । दरबारमार्गमा नविल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पक्राउ परेका चु लियाङकाङको बयानको आधारमा प्रहरीले होटलमा छापा मार्दा होटलको कोठाबाट दुई जनालाई पक्राउ गर्यो भने दुई जना लिफ्टबाट भाग्दै गर्दा पक्राउ परे ।

सोही समूहका चो लुकली नामका चिनियाँ मूलका फ्रेञ्च नागरिक आइतबार विमानस्थलबाट बाहिर जान लाग्दा पक्राउ परेका छन् ।

प्रहरीको आँखा छलेर होलटबाटै बाहिरिएका दुई जना भने अझै फेला परेका छैनन् ।

ती दुई जनाले आइतबार नै ठमेलको मनी एक्स्चेञ्जमा पुगेर २३ लाख २९ हजार रुपैयाँ बराबरको डलर सटही गरेको पनि प्रहरीले पत्ता लगाएको छ ।

डलर सहटी गर्ने नेपालय मनी एक्स्चेञ्च र देशको मनी एक्स्चेञ्जका संचालकहरु पनि पक्राउ परिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिएका छन् । प्रहरीले फरार रहेका दुई जनालाई पक्राउ गर्न इन्टरपोललाई समेत पत्राचार गरिसकेको छ ।

चिनियाँ गिरोहले शनिबार दिउँसोदेखी रातीसम्म गरी प्रभु बैंक, नबिल बैंक, एनआइसी एशिया र हिमालयन बैंकका एटीएमहरुबाट १ करोड ६८ लाख रुपैयाँ ह्याक गरी निकालेका थिए ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार