सगरमाथाको काखमा सूचना प्रविधि सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया

सन्तोष राउत/सोलुखुम्बु। संचार तथा प्रविधि सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया पहिलो पटक सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शुरु भएको छ।

अन्तरक्रियाको उद्घाटन गर्दै संचार तथा प्रविधि मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले संचार क्षेत्र तथा सरकारी निकायलाई सूचना प्रविधिमा चुस्त दुरुस्त बनाउने मन्त्रालयको नीति अनुसार प्रदेशस्तरीय अन्तरक्रिया शुरु गरेको जानकारी दिनुभयो।

उहाँले आमसंचार तथा सूचना प्रविधिलाई नीतिगत व्यवस्था गर्दै साइबर सुरक्षा, डिजिटल हस्ताक्षर लगायतका विषयहरुलाई प्रभावकारी बनाउन विज्ञापन विधेयक, आमसञ्चार विधेयक आउन लागेको बताउनुभयो।

सोही अवसरमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले इमेल तथा डिजिटल हस्ताक्षर अहिलेसम्म प्रभावकारी नभएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। सूचना दिने र ग्रहणको तरिकामा चुनौती रहेको भन्दै सरोकारवालाहरुले सही सूचना प्रवाहमा ध्यान दिएर सकरात्मक परिवर्तनमा जोड दिनुपर्ने उहाँको सुझाव छ।

मन्त्रालयका उपसचिव राजन पौडेलले सात वटै प्रदेशमा हुने यो अन्तरक्रिया प्रदेश एकको सोलुखुम्बुबाट सुरु गरेको जानकारी दिनुभयो।

सूचना प्रविधि आजको आधारभूत आवश्यकता बनेको सन्दर्भमा यसका चुनौती र अवसरलाई अधिकतम उपयोग गरेर प्रभावकारी बनाउन अन्तरक्रियाले सहयोग गर्ने उहाँको भनाइ छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठले हरेक कार्यलय तथा संघ संस्थामा सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउदै जनहितमा हुनुपर्ने बताउनुभयो।

दुई दिनसम्म चल्ने उक्त अन्तरक्रियामा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सरकारले गरेको अभ्यास, सम्भावना, चुनौती तथा अवसरको जानकारी दिदैं इमेल निर्देशिका, आमसञ्चार, पत्रपत्रिका वर्गिकरण डिजिटल नेपाल, डिजिटल हस्ताक्षर लगायतका विषयमा छलफल हुने कार्यक्रमको समन्वय सहयोगी तथा जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख योङ्गबहादुर राईले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार