नगर सफाईमा मेयर शेर्पाको सक्रियता बढ्दै, सल्लेरीको ढल व्यवस्थापनमा ३२ करोड

सन्तोष राउत/ सोलुखुम्बु । सफा, स्वच्छ र सुन्दर नगर बनाउने अभियानका साथ अघि बढेको सोलुखुम्बुको सोलुुदुधकुण्ड नगरपालिकाको बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि थप ३२ करोड ५५ लाख रुपियाँ बजेट स्विकृत भएको छ । पर्यटकीय जिल्लाको एक मात्र नगरपालिकाको वडा नं. ४ फाप्लु, वडा नं. ५ सल्लेरी र वडा नं. ६ दोर्पुबजार क्षेत्रको ढल व्यवस्थापनका लागि खानेपानी मन्त्रालयले थप बजेट स्विकृत गरेको नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।

ढल निर्माण तथा प्रशोधन आयोजना नाम दिइएको योजनाका लागि तीन बर्षे क्रमागत बजेट कार्यान्वयनमा लैजाने गरी टेण्डर आव्हान गर्न खानेपानी मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल खोटाङलाई पत्राचार गरेको छ ।

कुल ३२ करोड रुपियाँ मध्ये जनसहभागिता कटाएर २९ करोड ८२ लाख रुपियाँ प्रस्तावित लागत रहेको आयोजनालाई बहु–बर्षिय खरिद गुरुयोजना अन्तरगत स्विकृत गरिएको हो । आयोजनालाई चालु आर्थिक बर्ष २०७६/७७ मा तीन करोड रुपियाँ, आर्थिक बर्ष २०७७/७८ मा १५ करोड रुपियाँ र आर्थिक बर्ष २०७८/७९ मा बाँकी ११ करोड ८२ लाख रुपियाँ रकम उपलब्ध गर्ने स्विकृत तालिकामा उल्लेख गरिएको छ ।

आगामी तीन बर्षभित्र फाप्लु–सल्लेरी–दोर्पु क्षेत्रको ढलको व्यवस्थापन चुस्त हुने नगरप्रमुख शेर्पाले दाबी गर्नुभयो । अहिले पुरानो एनएमबी बैङ्कदेखि जेरो प्वाइन्टसम्म ढल व्यवस्थापनको काम भइरहेको र अहिले स्विकृत बजेटबाट सल्लेरीको बाँकी भाग, फाप्लु र दोर्पु क्षेत्रमा ढल व्यवस्थापनको काम हुने उहाँको भनाइ छ ।

आगामी तीन बर्षमा बजार क्षेत्रको मुहार फेरिने भन्दै प्रमुख शेर्पाले पर्यटकीय क्षेत्र भएकाले सफा र सुन्दर नगरपालिका बनाउन आफू हरेका तरहले लागिपरेको बताउनुभयो । बजेट व्यवस्थाका लागि पटक पटक मन्त्रालयमा धाएर बल्ल सफल भएको छ, मेयर शेर्पाले भन्नुभयो ।

हाले सल्लेरीदेखि जेरोप्वाईन्टसम्म सहरी विकास विभागको पाँच करोड ८० लाख रुपियाँको बजेटमा खानी कुवँर ब्राइट जेभीले ढल व्यवस्थापनको काम गरिरहेको छ । वर्षायाममा रोकिएको काम करिब ३५ प्रतिशत पुरा भएको निर्माण कम्पनीले दाबी गरेको छ । वर्षायाममा शुरु गरेको काम अलपत्र छोड्दा स्थानीयलाई आवतजावत गर्न सकस भएको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार