सोलुखुम्बु सहित ७७ वटै जिल्लाका सम्पर्क समितिले एकै स्थानमा २८ गते रक्तदान गर्दै


हिमाल, पहाड, तराई–मधेश, नेपाली काँग्रेस, राष्ट्रिय जागरण अभियान भन्दै दोस्रो चरण कार्यक्रममा होमिएको नेपाली काँग्रेसको ७७ वटै जिल्लाका काठमाडौं सम्पर्क समितिहरुको आयोजनामा भदौ २८ गते शनिबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा नयाँ बानेश्वरको छक्कु बक्कु मन्दिर अगाडी रहेको छक्कु बक्कु पार्कमा हुने उक्त कार्यक्रममा नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा सहितको उपस्थिती हुने सोलुखुम्बु काठ्माण्डौँ सम्पर्क समितिका सभापति मनोज खड्काले जानकारी दिनुभयो ।

अर्को समितिले पनि अघिल्लै दिन रक्तदान गर्दैछ भन्ने प्रश्नमा सभापति खड्काले भन्नुभयो, अवैधानिक समिति गठन गरेर नौटङ्की गरेका हुन्, यदि त्यो समिति वैधानिक भएको भए किन संयुक्त कार्यक्रममा स्थान पाएन त ? कुन समिति वैधानिक हो भन्ने कुरा यही कार्यक्रमले पनि प्रष्ट भइसक्यो, काँग्रेसको यति ठूलो कार्यक्रममा सहभागी हुन नपाएर चाबहिलको एउटा कुनामा सोलुखुम्बुको मात्र एकलकाँटे तरिकाले गरेको कार्यक्रमको के अर्थ ?–उहाँको प्रश्न छ । रक्तदान गर्नु महान कार्य भए पनि पार्टीको लाइन विपरित काम गर्नु काँग्रेसलाई सिध्याउने खेल बाहेक केही नभएको उहाँको ओराप छ ।

कार्यक्रमको शुरुवात काँग्रेस प्रवक्ता दम्पत्ति विश्वप्रकाश शर्मा र उहाँकी धर्मपत्नी कविता शर्माले रक्तदान गर्ने योजना छ । कार्यक्रम सम्पूर्ण सम्पर्क समितिहरुको तर्फबाट नेपाली कांग्रेस ताप्लेजुङ्ग–काठमाडौं सम्पर्क समितिका सभापति भक्तिराज भट्टराईको संयोजकत्वमा हुने भएको हो । र्काक्रमको सबै तयारी पूरा भएको भन्दै लोकतन्त्रप्रेमी सम्पूर्णलाई खुला रक्तदानमा सहभागी भई जीवनदान गर्नु हुनु संयोजक भट्टराईले अपिल गर्नुभएको छ ।

“मेरो रगत कसैको जीवन“ भन्ने मुख्य नाराका साथ काठमाडौंका अस्पतालहरुमा रगतको अभाव हुन नदिने उद्देश्यका साथ शुरु गरिएको रक्तदान कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार गरिंदै आएको छ । आगामी दिनमा पनि सम्पर्क समितिहरुको नियमिति कार्यक्रमको रुपमा रहने जानकारी नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रमको समापनका क्रममा समेत बताउनु भएको थियो।

समानान्तर समितिले पनि गर्यो रक्तदानको आयोजना
जिल्ला कार्यसमिति नै अवैधानिक रुपमा गठन भएको भनिएको नेपाली काँग्रेस सोलुखुम्बुले पछिल्लो केही समयअघि गठन गरेको अवैधानिक समानान्तर समितिको आरोप लागिरहेको सोलुुखुम्बु–काठ्माण्डौँ सम्पर्क समितिले पनि चाबहिलमा २७ गते नै रक्तदानको आयोजना गरिरहेको छ ।

२८ गते हुने सबै सम्पर्क समितिले गर्ने संयुक्त रक्तदान कार्यक्रममा प्रवेश नपाएपछि अघिल्लै दिन छुट्टै रक्तदानको आयाजना गरेर अर्को झुटको खेती गरेको अध्यक्ष खड्काले ओरोप लगाउनुभयो ।

देसभरीका सम्पर्क समितिका संयोजक भक्तिराज भट्टराईले पछिल्लो समितिका बारेमा आधिकारीक जानकारी केही नआएको भन्दै मनोज खड्काकै समितिलाई रक्तदान कार्यक्रममा स्थान दिएको बताउनुभयो । पछिल्लो समितिले पनि संयुक्त रक्तदानमा सहभागी बन्ने प्रयास गरेको भन्दै विवादित रुपमा गठन भएकोले मान्यता नदिएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गतेदेखि असोज ६ गतेसम्म देशै भर सञ्चालन भई रहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार