सन्तोष राउत/ सोलुखुम्बु । संविधान दिवसको अवसर पारेर सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेसँगै सोलुखुम्बुलाई ७६ औँ खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । ‘एक घर एक चर्पी’ निर्माण सकिएको भन्दै सन् २०३० सम्म जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता सहित प्रतिनिधिसभा सदस्य हेमकुमार राईले खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नुभएको हो ।
खुला दिशा मुक्त घोषणा हुन बाँकी सोलुदूधकूण्ड नगरपालिकासहित एकैपटक घोषणा गरिएको हो । सरकारले यही असोज १३ गते नेपाललाई नै खुला दिशा मुक्त घोषणा गर्ने तयारी गरेको छ । संविधान दिवस र खुला दिशामुक्त क्षेत्र घोषणाको मिश्रित कार्यक्रम शुरु हुनुअघि सल्लेरी बजारमा तीनै तहका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, शिक्षक, विद्यार्थी सहित नागरिकको सहभागितामा ¥यालीको गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेमकुमार राईले विकासमा जस लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै ढिलै भएपनि जिल्लालाई खुला दिशामुक्त घोषणा गर्नु सकरात्मक रहेको बताउनुभयो । प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले खुला दिसामुक्त घोषणा भनेको सरसफाईको शुरुवात भएकाले अझै यसलाई व्यवस्थित गर्न लाग्नुपर्ने बताउनुभयो । अर्का प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेतले यस घोषणाले सरसफाईमा सहयोग गर्दै पानीजन्य रोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।
नगरपालिका समेत खुला दिसामुक्त घोषणा भएको अवसरमा मेयर नाम्गेलजाङबु शेर्पाले अब नगरपालिका पूर्ण सरसफाईको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदरमुकाम समेत रहेको नगरपालिकालाई खुला दिसामुक्त बनाउन धेरै चूनौती पार गरेको बताउनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, नेकपा जिल्ला इन्चार्ज राजेन्द्र बस्नेत, अध्यक्ष मानवीर राई, नेपाली काँग्रेसका नेता कुशराज राई, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र थापमगर लगायतले खुला दिसामुक्त जिल्ला घोषणासँगै सरसफाईमा सबै सचेत हुनुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राईले आफ्नो यो दिन खुशीको क्षण भएकाले सहयोगी सबैलाई धन्यबाद दिनुभयो । प्रत्येक घरमा सौचालय भएपनि ढल व्यवस्थित नहुँदा हालसम्म जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सदरमुकाम र आसपासका वडा चूनौतीका रुपमा रहेका थिए ।
साविक ३४ वटा गाविसमध्ये तीन वटा गाविस खुुला दिशामुक्त क्षेत्र घोषणा भएका थिएनन् । कार्यक्रममा जिल्लामा बसोबास गर्ने सबै जातजातीहरुले जातीय भेषभुषामा विभिन्न झाँकी प्रदर्शन गरेका थिए । ।