४० वर्षपछि बागवानीमा ‘विक्री केन्द्र’

सन्तोष राउत/ सोलुखुम्बु । माथिल्लो सगरमाथामा पर्ने सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका कृषकहरुलाई कृषि क्षेत्रमा सहयोग गर्न विगत ४० वर्ष अघिदेखि सञ्चालनमा रहेको बागवानी केन्द्र फाप्लुले बिक्री केन्द्र शुरु गरेको छ । करिब १७.५ हेक्टर क्षेत्रफमा फैलिएको बागवानी केन्द्रमा स्याउ, किबी, आल्चा, आरु लगायतका विभिन्न जातका फलफूल साथै विभिन्न किसिमका तरकारी उत्पादन हुने गरेको छ ।

सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले बागवानीमा उत्पादित फलफूल किनेर मङ्गलबार केन्द्रको उद्घाटन गर्नुभयो । सांसद राईले जिल्लाकै आकर्षक रहेको बागवानी केन्द्र नमुना बन्दै गएको भन्दै यसले वास्तविक कृषकलाई बढी भन्दा बढी फाइदा दिनुपर्ने बताउनुभयो । काम भन्दा पनि अनुदानमा कृषकहरुले जोड गर्ने परिपाटी मौलाउँदै गएकाले कृषिमा राज्यले गरेको लगानी अनुसारको प्रतिफल आउन नसकेको सांसद राईको भनाइ छ ।

पछिल्लो समय कृषि क्षेत्रमा पनि ‘झोले’ कृषकको हावी हुन थालेको कृषकहरुको गुनासो छ । यसै अवसरमा बागवानी केन्द्रले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सरकारी अनुदान पहुँच र भनसुनको आधारमा लिने क्रम बाक्लिएको भन्दै नक्कली कृषकको हावी भइरहेको कृषक जाङबु शेर्पाले गुनासो गर्नुभयो । अरुको कामको फोटो खिचेर पनि अनुदान लिएको उदाहरण पेश गर्दै कृषक शेर्पाले काम गर्ने कृषकलाई पहिचान गरी हौसलाको आवश्यकता रहेको बताउनुभयो ।

अन्तरक्रियामा प्रदेश सांसदहरु बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीरकुमार राई, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल लगायतको उपस्थीति रहेको थियो । सबैले आधुनिक तथा व्यवसायिक कृषिमा सबै इमान्दारिताका साथ लाग्नुपर्ने सुझाव दिनुभयो ।

बागवानीमा उत्पादित तरकारी तथा फलफूल बिक्रीका लागि केन्द्रको प्रवेशद्वारमा बिक्री केन्द्र र खाजाघर सेमत सञ्चालनमा ल्याइएको बागवानी केन्द्र फाप्लुका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताउनुभयो । ताजा तरकारी सरकारी मुल्यमा खरिद गर्न चाहनेले बागवानी केन्द्रभित्र प्रवेश गर्दा सर्वसाधारणलाई पनि कर्मचारी खोज्दै हिड्नुपर्ने र बगानमा रहेका फलफूल पनि चोरिने समस्याको अन्त्यका लागि बिक्री केन्द्रले सहज हुने उहाँले बताउनुभयो ।

बिक्री केन्द्र सञ्चालनमा आएपछि बागवानीको राजस्व पनि बृद्धि हुने केन्द्रले जनाएको छ । गत आर्थिक बर्ष २०७/७६ मा अहिलेसम्मकै बढी करिब नौ लाख रुपियाँ राजस्व सङ्कलन गरेको बागवानी केन्द्रको तथ्याङ्क रहेको छ । केन्द्रमा स्याउ, काउली, बन्दा, काँक्रा, भेण्टा, खुसार्नी, मुला, आलु, केराउ र मूलाको विउविजन समेत उपलब्ध हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार