‘स्क्रब टाइफस’को जोखिम बढ्दै, यी हुन् लक्षण

सन् १९३० मा जापानमा पहिलोपटक देखापरेको ‘स्क्रब टाइफस’ नेपालमा पनि देखिन थालेको छ ।

मुसामा पाइने किर्नाको टोकाइबाट सर्ने यो रोग २०७२ सालको भूकम्पपछि वर्षेनि नेपालमा देखापर्न थालेको चिकित्सकहरुले बताएका छन् ।

यसै वर्षमात्रै सरुवारोग केन्द्रले २३ जना स्क्रब टाइफसका बिरामीको उपचार गरेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग नियन्त्रणमा आउन थालेको समयमा पुनः नयाँ रोग स्क्रब टाइफसको समस्या बढ्दै गएको छ ।

वर्षायाम सुरु भएसँगै देखिएको स्क्रब टाइफसबाट हालसम्म ६९५ व्यक्ति प्रभावित भएका छन् ।

मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफस सबैभन्दा धेरै प्रदेश नम्बर–५ मा देखापरेको छ । त्यहाँ २३७ जनामा यो रोग देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा १५५ जना व्यक्ति प्रभावित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मुसा र झाडी बढी भएको ठाउमा यस किसिमका किर्ना भेटिने हुँदा खेतबारीमा काम गर्ने र जंगल जाने मानिसहरु बढी जोखिममा रहेको जानकारी दिए ।

किर्नाले टोकेको ७ देखि १४ दिनपछि यो रोगको लक्षण देखापर्न थाल्छ । यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, पखाला लाग्नेलगायतका लक्षण देखापर्ने डा. लालले जानकारी दिए ।

समयमा नै उपचार नभए यस रोगको व्याक्टेरिया रगतमा प्रवेश गरी मिर्गौला, फोक्सो, र कलेजोमा समस्या देखापरी बिरामीको मृत्यु नै हुने चिकित्सकहरु बताउँछन् ।

तर, लक्षण देखापर्नासाथ उपचार गरे यो रोग पूर्णरुपमा निको हुने डा. लालले जानकारी दिए ।

अन्न भन्डार गर्ने ठाउँमा मुसा लाग्ने समस्या नियन्त्रण गर्ने, घरमा मुसा लाग्न नदिने र व्यक्ति आफैं सचेत हुने हो भने यो रोग नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार