कांग्रेस केन्द्रीय समितिको आकार बढ्यो : गच्छदारले पाए ११ केन्द्रीय सदस्य र ६ सय महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समयोजनलाई निर्णयमा पुर्‍याएको हो ।

उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई केन्द्रीय कार्यसमिति अनुमोदन गरेसँगै समायोजन निष्कर्षमा पुगेको हो ।

जसअनुसार अब कांग्रेसको केन्द्रीय समितिको आकार ९६ सदस्यीय हुने पक्का भएको छ । हाल केन्द्रीय समिति ८५ सदस्यीय छ । कांग्रेसले समयोजनका क्रममा ११ जना केन्द्रीय सदस्य गच्छदार समूहलाई दिने निर्णय गरेको हो ।

कांग्रेसले समायोजनलाई निष्कर्षम पु¥याउन भन्दै उपसभापति निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समयोजनको सबै काम अन्तिम टुंगोमा पुगेको बताए । तर, कोको केन्द्रीय सदस्य हुने भन्नेबारे भने नाम आएपछि मात्रै निर्णय हुने जनाए ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिमा समायोजनको प्रस्तावलाई ध्यान राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय गरेको छ ।

बैठकले यसअघि केन्द्रीय समितिले गच्छदारलाई पार्टी उपसभापति बनाउन गरेको निर्णय र लोकतान्त्रिक फोरमका २ सय महासमिति सदस्यको सदस्यता अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै, तत्कालीन लोकतान्त्रिक फोरमलई ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय भएको छ ।

महासमितिको बैठकमा सहभागी २ सय जना महासमिति सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाइएको हो । यसैगरी, महासमितिको बैठकमा पर्यवेक्षकका रूपमा सहभागी १४८ जनालाई समेत प्रतिनिधि बनाइएको छ भने थप २५२ जना महधिवेशन प्रतिनिधि दिइएको छ ।

यस्तै, पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने सहमति बनेको छ ।

यस्तै, प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने सहमति छ ।

यसैगरी मोरङ जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना, सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना दिने निर्णय बैठकले गरेको छ ।

यस्तै, सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना, सर्लाही, दाङ, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ७/७ जना, झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ५/५ जना, बारा र बाँके जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ३/३ जना, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुर जिल्ला कार्यसमितिमा सहसचिव १/१ र सदस्य ३/३ जना दिने बैठकले निर्णय गरेको छ । राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार