सल्लेरीमा कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

सोलुखुम्बु। संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको सम्बर्धन गर्दै, शान्ति र समृद्धिको यात्रामा उत्प्रेरणा भरून् हाम्रा पावन पर्वहरुले भन्ने नाराका साथ नेपाली कांग्रेस सोलुखुम्बुले दशैं, तिहार, नेपाल सम्वत्, छठ, ल्होसार, उधौली, क्रिसमस लगायतका नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गरेको छ।

सदरमुकाम सल्लेरीमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले यस्ता कार्यक्रमले दलहरुबीच एकता कायम गर्दै समुन्नत सोलुखुम्बु निर्माणको शुभकामना व्यक्त गर्नुभयो।

यस अवसरमा केसीले संविधानको सफल कार्यान्वयनमा दलहरु चनाखो नभए लोकतन्त्र धरापमा पर्ने बताउनुभयो। सोलुखुम्बुलाई भ्रष्टाचार मुक्त बनाउन सोलुखुम्बुका राजनीतिक दलहरुलाई केहीले नछेक्ने उहाँको भनाइ छ।

कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईले कांग्रेसले राम्रो संस्कारको विकास गरेको भन्दै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

संघीय समाजवादीका अध्यक्ष नरेन्द्र थापामगर, गैरसरकारी संस्थाका पुर्व अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक कुमार झा लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति भएको कार्यक्रममा समारोहका सभापति विनोदकुमार बस्नेतले महामानव वीपी कोइरालाले शुरु गरेको मेलमिलाप कार्यक्रमलाई निरन्तरता दिदैं आज पनि सबै दलसँग मेलमिलाप गर्न तयार रहेको बताउनुभयो। जिल्लाको विकासमा सबै मिल्नुको विकल्प नभएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार