पर्यटन प्रबद्र्धनका लागि गाउँपालिका महोत्सव

सन्तोष राउत/ सोलुखुम्बु। सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले पर्यटन वर्ष २०२० लाई लक्षित गरी गाउँपालिका महोत्सब गर्ने भएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले सरकारलाई आफ्नो तहबाट सक्दो सहयोग गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

स्थानीय फुड फेस्टिभल, कृषि प्रदर्शनी मेला, खेलकुद, स्थानीय कला संस्कृति झल्काउने झाँकी तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा हुने महोत्सब मङ्सिर ५ गते देखि ८ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत अध्यक्ष राईले बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, ‘हामी महोत्सवमा स्थानीय परिवेश, खेलकुद र मनोञ्जनको माध्यामबाट पर्यटकलाई आकर्षण गर्दै समृृद्ध स्थानीय तह निर्माण तथा सरकारको भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग गर्न चाहन्छौँ । महोत्सवको अवसरमा बृहत् कृषि प्रदर्शनीबाट गाउँपालिकामा उत्पादन हुने कृषि उपजका बारेमा जानकारी दिने र कृषकलाई उत्पादनमा उत्प्रेरणा दिने योजना रहेको छ । त्यस गाउँपालिकामा कृषि पर्यटनको धेरै सम्भावना रहेको अध्यक्ष राईको दाबी छ ।

त्यस गाउँपालिकाबाट समेत प्रतिनिधित्व गर्ने प्रदेस सांसद उत्तमकुमार बस्नेतले थुलुङदूधकोशीलाई ‘पर्यटन हब’को रुपमा विकास गर्न सकिने सम्भावना रहेको दाबी गर्नुभयो । ठाउँठाउँमा पक्की, झोलुङगे, काठे पुल निर्माणमा जोड दिएको बताउँदै सांसद बस्नेतले काँगेल विमानस्थल सञ्चालनको प्रयासमा भइरहेकाले तल्लो सोलुको पर्यटक विकास गर्ने उहाँको भनाइ छ ।

सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले गाउँपालिकामा हजारौँ आन्तरिक पर्यटक भित्रने आशा राखिएको छ । खेलकुद र सांस्कृतिक कार्यक्रमले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने खेल संयोजक रामसंघर्ष किराँतीले बताउनुभयो । महोत्सवको अवसरमा अध्यक्ष रनिङ शिल्डका साथमा महिला पुरुष हाफ म्याराथुन, नृत्य, एकल ट्रयाक गायनसमेत आयोजना गरिएको छ ।

महोत्सवका लागि गायक शम्भु राई, गायिका मेलिना राई, हाँस्य कलाकार फुलन्देकी आमा लगायतका कलाकारहरु मुक्ली आउने आयोजकले जनाएको छ । महोत्सवमा दैनिक पाँच देखि दस हजार जना आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार