सगरमाथाको फेदीमा इन्जिनियर उत्पादन


सन्तोष राउत/ सोलुखुम्बु । दुर्गममा प्राविधिक जनशक्ति उत्पादन नुहँदा बाहिरबाट ल्याइएका प्राविधिकहरु अन्यत्र सुविधा पाउने वित्तिकै छोडेर जाने हैरानीबाट मुक्त हुन सगरमाथाको फेदी सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा सिभिल इन्जिनियर उत्पादन थालिएको छ । प्रवेश परीक्षा सञ्चालन भइसकेकोले यसै शैक्षिक सत्रबाट ‘डिप्लोमा इन सिभिल ईन्जिनियरिङ’ कक्षा सञ्चालन हुन लागेको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)बाट अनुमति लिएर सबै प्रक्रिया पुरा गरी कक्षा सञ्चालनको अन्तिम तयारीमा पुगेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले ४८ जनाका लागि ‘डिप्लोमा इन सिभिल ईन्जिनियरिङ’ कक्षा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेपछि प्रक्रिया अघि बढेको अध्यक्ष राईले बताउनुभयो ।

प्राविधिक जनशक्ति अभावमा विकास निर्माणलगायतका काममा समस्या भइरहेका बेला व्यवहारिक शिक्षामार्फत गाउँमै दक्ष जनशक्ति उत्पादन गर्नु हाम्रा लागि आवश्यक र महत्वपूर्ण सफलता हो, अध्यक्ष राईले भन्नुयभो । विभागीय मन्त्री तथा सम्बन्धित निकायसँग दर्जनौँ पटक नियमित बैठक र सम्पर्कपछि कक्षा सञ्चालन गर्ने स्वीकृति प्राप्त गरियो, यसले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउँदै जिल्लालाई नै फाइदा पुग्ने छ, उहाँले भन्नुभयो ।

उँपालिकाको केन्द्र मुक्लीमा कक्षा सञ्चालन गर्ने गरी यस आर्थिक बर्षमा ५० लाख रुपियाँ बजेट बिनियोजन गरिएको छ । अध्ययनका लागि सोलुखुम्बु सहित खोटाङ, ओखलढुङ्गा लगायतका जिल्लाका वद्यार्थी आउने अध्यक्ष राईको विश्वास छ । अब इन्जिनियरिङ पढ्नकै लागि ऋण खोजेर बाहिर जानुपर्ने बाध्यता हटेको र आर्थिक रुपमा विपन्न जेहेन्दार बिद्यार्थीहरु आफ्नै ठाउमा रोटी, ढिडो खाएर इन्जिनियर बन्न पाउने अवसर प्राप्त भएको उहाँको भनाइ छ ।

गाउँमै इन्जिनियरिङ पढाई हुने भएपछि स्थानिय हर्षित भएका छन् । यसअघि सोलुखुम्बुबाट एसएलसी÷एसइइ पास भएपछि इन्जिनियरिङ अध्ययनकै लागि देसका भिन्न ठाउँमा लाखाँै खर्च गरेर जानुपर्ने बाध्यता थियो भने कतिपयले खर्च अभावकै कारण बाध्यताले अन्य विषय अध्ययन गर्नुपर्ने थियो ।

राजधानी पुगेर पढ्नका लागि करिब १० लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने भएकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई गाउँपालिकामै करिब साँढे दुई लाख रुपियाँमा इन्जिनियर बनाउने लक्ष्यका साथ यो प्रयास गरिएको गाउँपालिकाले जनाएको छ । यसअघि धेरैले दोलखाको जिरिबाट असिसिटेण्ट सब इन्जिनियर कोर्ष पुरा गरेपछि खर्च अभावमा सब इन्जिनियर पढ्ने इच्छा अधुरै रहेको गुनासो गर्दै अब भने सबैलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।

सिभिल ईन्जिनियरिङ कक्षा सञ्चालनको लागि मुक्लीमा आवश्यक पुर्वधार निर्माणको काम सकिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त ३६ लाख रुपियाँ र गाउँपालिकाको २० लाख रुपियाँ गरी ५६ लाख रुपियाँको लागतमा छ कोठे भवन निर्माण सम्पन्न भएको हो । गाउँघरमै बसेर इन्जिनियर बन्ने हजारौँ गरिब जनताका छोराछोरीको सपना पुरा गराउन गाउँपालिका सफल भएको अध्यक्ष असिम राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार