मन्त्रिपरिषद् पुनर्गठनः को हटे, कोको बने मन्त्री ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।

बुधबार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको पुष्टि गरे ।

बिहीबार विहान सपथग्रहण राखिएको बताएपनि उनले हटाइएका र नयाँ नियुक्त भएका मन्त्रीहरूबारे बताउन  चाहेनन् ।

उपेन्द्र यादवको मन्त्रालय फेरियो

नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।

यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

रघुवीर गोकर्ण र लालबाबुको मन्त्री पद खोसियो

स्रोतकाअनुसार भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए ।

मोती दुगडको इन्ट्री

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, माेती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।

स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।

भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन । भट्टलाई श्रम मन्त्री बनाउने सम्भावना छ । यस्तै विमला राई पौडेललाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ । विमलालाई राज्यमन्त्री बनाउने सम्भावना छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।onlinekhabar.com bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार