उपनिर्वाचन समीक्षा: नेकपालाई सोचेजस्तो भएन, कांग्रेसलाई राहत मिल्यो, उत्साह मिलेन

काठमाडौं। उपनिर्वाचनको परिणाम सत्तापक्ष र प्रतिपक्षी दुवै दलले सोचे जस्तो आउन सकेन ।

अघिल्लो निर्वाचनमा गठबन्धन मात्र बनाएर निर्वाचनमा सहभागी भएको नेकपा पार्टी एकीरकण भएपनि खासै उपलब्धी हासिल गर्न सकेन भने प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि यो निर्वाचनले सामान्य राहत बाहेक उत्साह थप्न सकेन ।

अघिल्लो  निर्वाचनमा नेकपाले जितेको कास्की २ अहिले पनि नेकपाले आफ्नै पक्षमा पारेको छ । तर अघिल्लो पटक र अहिलेको मतान्तर भने अलि कम छ ।

स्वर्गिय रविन्द्र अधिकारीकी श्रीमती चुनावी मैदानमा उत्रिएकाले मानवीय संवेदनासँग जोडिएको मत पनि विद्या भट्टराईले पाएको चर्चा छ ।

अघिल्लो निर्वाचनको तृुलनामा अहिले यो क्षेत्रमा कम मत खसेको छ । कांग्रेससँग यसअघि नेकपाको मतान्तर ८ हजार ५ सय भएकोमा अहिले ८ हजार ४ सय मा झरेको छ ।

दाङको ३ ख मा पनि नेकपाले तत्कालीन सांसद उत्तरकुमार ओलीको निधनपछि रिक्त क्षेत्रमा नेकपाले उनकै श्रीमती बिमला खत्रीलाई  टिकट दिएको थियो ।

खत्रीले कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारिन् । उनले काँग्रेस उम्मेदवार केशव आचार्यलाई पाँच हजार भन्दा बढी मतान्तरले हराएकी हुन् ।

यद्यपी अघिल्लो निर्वाचनमा भन्दा काँग्रेसले त्यस क्षेत्रमा पनि बढी मत प्राप्त गरेको छ । भक्तपुरमा भने प्रमुख प्रतिपक्षी कांग्रेसलाई यो  निर्वाचनले  निकै राहत दिएको छ ।

भक्तपुर १ (क) को निर्वाचनमा दुई हजार पाँच सय मतले अघिल्लो निर्वाचनमा पराजित भएका काँग्रेस उम्मेदवार कृष्ण भडेलले अहिले १३ हजार ४ सय ४९ मत पाए भने नेकपाका डिपी ढकाल ११ हजार २ सय ६ मा सिमित बनेका छन् ।

बाग्लुङ प्रदेश २ (ख) मा नेकपाले सहयोग गरेका उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार ८ सय १४ मतसहित विजयी भएका छन् भने कांग्रेसका जित शेरचनले ९ हजार १ सय ३८ मत ल्याएका छन् ।

यद्यपी काँग्रेसले यस क्षेत्रमा ५ सय २६ मत बढाएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा भने कांग्रेसले निकै सुधार गरेको छ ।

यसअघि दुई पार्टीको मत जोड्दा लगभग आठ हजार भन्दा बढी मतान्तरमा रहेको कांग्रेसले अहिले करिब ३ हजार मतान्तरमा जित हात पारेको छ ।

बहुदलपछि पहिलो पटक काँग्रेसले यस क्षेत्रमा जित हासिल गरेको हो । काँग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख बनेका छन् । 

यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिकामा यसपटक नेकपाले जितेको छ । संखुवासभाको मकालु गाउँपालिका प्रमुख र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा पनि नेकपाले जित हात पारेको छ ।

यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिाकामा अहिले नेकपाले जित हात पारेको छ । मुख्य दुई दल सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच केही वडाहरु भने हेरफेर भएका छन् ।

४३ वडामध्ये नेकपाले यसअघि जितेका २३ मा ६ कांग्रेसले जितेको छ भने कांग्रेसले जितेका १२ मध्ये ७ मा नेकपाले जित हात पारेको छ ।

समग्रमा काँग्रेसले एक वडा र एक गाउँपालिका प्रमुख एक तथा एक उपप्रमुख गुमाएको छ । सत्तारुढ नेकपाले जितेका २३ वडामा आफुलाई सुरक्षित गरेको छ ।

नेकपाले प्रदेश सभा एक र उपमहानगरपालिका  एक गुमाएको छ । क्षेत्रिय दलबाट राष्ट्रिय दलमा बिस्तारित हुँदै गरेका समाजवादी पार्टी २ र राजपाले ३ वडामा जित हात पारेपनि खासै सफलता प्राप्त गर्न सकेनन् ।

अन्य वैकल्पिक शक्ति भनेर उदाउन प्रयत्न गरेका राजनीतिक दल कुनै स्थानमा पनि हजारको अंकमा पुग्न सकेनन् ।

समग्रतामा यो जनमतले सत्तारुढ दलसँग जनता पूर्ण खुशी नभएको र प्रतिपक्षीहरुसँग पनि विश्वास गरी हाल्ने वातावरण नरहेको संकेत गरेको छ ।  सरोज अधिकारी/ ईमेज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार