‘आइसीयु’बाटै प्रधानमन्त्रीको भिडियो सन्देश, ‘सुधार भइरहेको छ’ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाकाबारेमा विभिन्न अफवाह फैलिएपछि प्रधानमन्त्री ओलीले अस्पतालको ‘आइसीयु’बाटै भिडियो सन्देश जारी गरेका छन् ।

सोमबार अपराह्न जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख सुधार हुँदै गएको बताएका छन् ।

उनले रोग सबैलाई लाग्ने र सूचना दिएर रोग नलाग्ने भन्दै आफूलाई अप्रत्याशित ‘एपेन्डिसाइटिस’को समस्या आइलागेको बताएका छन् ।

एपेन्डिसाइटिसको संक्रमण बाहिरसम्म फैलिएका कारण भएको ‘इन्फेक्सन’ हटाउन हप्ता–१० दिन लाग्ने पनि उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्याशितरुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुपर्‍यो । त्यसकारण उपचारका क्रममा हप्ता–१० दिन लाग्ने भयो ।’

‘मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ । सुधार भइरहेको छ’–उनले अगाडि भनेका छन् ।

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा आफू समाचारहरु हेर्नसक्ने अवस्थामा रहेको भन्दै आइतबार साँझ दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह पनि हेरेको बताएका छन् ।

एपेन्डिसाइटिसको समस्या आएपछि गएको मंगलबार प्रधानमन्त्री ओलीको महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सफल शल्यक्रिया गरिएको थियो ।

हाल उनी सोही अस्पतालको आइसीयुमा उपचाररत् छन् ।imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार