भूमेश्वरी आधारभूत विद्यालयलाई एक लाख रुपियाँ सहयोग

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ मा रहेको भूमेश्वरी आधारभूत विद्यालयलाई माध्यामिक विद्यालय सञ्चालनका लागि एक लाख दुई हजार रुपियाँ सहयोग प्राप्त भएको छ ।

नेचासल्यान–२ का वडा अध्यक्ष भेषकुमार बाँस्तोलाले प्रस्तावित माध्यामिक विद्यालय सञ्चालन गर्नका लागि आवश्यक धरौटी बापत लाग्ने रकमका लागि एक लाख दुई हजार रुपियाँ सहयोग गर्नुभएको हो । जिल्लाको दुर्गममा सञ्चालित विद्यालयमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने भएकाले उनीहरुका लागि सहयोग गरेको अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

नेपाल सरकारको एक वडा एक माध्यामिक विद्यालय भन्ने नार पूरा गर्न आफ्ना पिता टङ्कप्रसाद बाँस्तोलाका नाममा उक्त रकम प्रदान गरेको उहाँको भनाइ छ । बाक्लो बस्ती तथा विद्यार्थीको राम्रो चाप रहेको उक्त विद्यालयमा मावि सञ्चालन हुने भएपछि विकटका सारेकारवालामा खुशी छाएको छ ।

यसैबिच उक्त विद्यालयमा भएको अभिभावक भेलाले रमेशकुमार राईको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । अन्य सदस्यमा शर्मिला राई, भीमबहादुर मगर र शिक्षक अभिभावक संघको अध्यक्षमा मानवीर थापामगर चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार