सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको साविक सल्यान गाविसमा पहिलो पटक रेमिट्यान्स सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन् । यसअघि सदरमुकाममा धेरै समय र खर्च गरेर विदेस तथा स्वदेसबाट आएको रकम लिन जानु पर्ने बाध्यता टरेपछि स्थानीयलाई सहज भएको हो ।
छोरा मलेसिया रहेका स्थानीय रामकुमार तामाङले भन्नुभयो, पहिला पहिला छोराले पठाएको रकम लिनका लागि दिननै माया मारेर टाढा जानुपर्ने बाध्यता थियो, अब त्यसको अन्त्य भएको छ । पैसा आएको एकैछिनमा निकाल्न पाउँदा धेरै खुशी लागेको उहाँले बताउनुभयो । त्यस्तै, अर्का सेवाग्राही रत्ना राईले श्रीमान्ले कतारबाट पठाएको रकम गाउँमै निकाल्न मिल्ने भएपछि समय र खर्चको बचत भएको बताउनुभयो ।
राजधानीमा बसेर करिब १० वर्ष पत्रकारिता गर्नुभएका स्थानीय युवा युवराज राईले गाउँमै फर्केर सुयोग रेमिटबाट रेमिट्यान्सको कारोकार गर्न थालेपछि त्यसक्षेत्रका स्थानीयलाई रकम निकाल्न सहज भएको हो । गाउँमै केही गर्ने उद्देश्यले यस्तो व्यवसाय थालेको बताउने राईले यस रेमिटबाट करिब दर्जन बढी रेमिट्यान्स कम्पनीको सेवा दिइरहेको बताउनुभयो ।
सरदर दैनिक दुई लाख रुपियाँ तथा मासिक ६० लाख रुपियाँको कारोबार भइरहेको र जति रकम भएपनि भुक्तानी दिन सक्ने उहाँको भनाइ छ । सेवामूलक व्यवसायबाट पनि आम्दानी गर्न सकिने उहाँको विश्वास छ ।