स्वास्थ्य शिविरबाट साढे तीन हजारले सेवा पाए

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सञ्चालन गरेको वडास्तरीय स्वाथ्य शिविरबाट तीन हजार छ सय सर्वसाधारणले सेवा लिएका छन् । नगरपालिकाले माग १५ गतेबाट माग २८ गतेसम्म सञ्चालन गरेको शिविरबाट तीन हजार छ सय ३९ जनाले सेवा लिएको सोलुदूधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा संयोजक चमरबहादुर मगरले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र रहेका ११ वटै वडामा राखिएको स्वास्थ्य शिविरबाट दुई हजार ३४० महिला र एक हजार २९९ पुरुषले सेवा लिएको संयोजक मगरले बताउनुभयो । जनताको स्वास्थ्य जस्तो आधारभूत कुरालाई प्राथमिकतामा राखेर नगरपालिकाले नगरबासीहरुलाई वडास्तरबाटै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भिडियो एक्सरे, आँखा, दाँत र ल्याब सहितको स्वास्थ्य सेवा दिइएको छ ।

शिविरमा जनरल चेकअप सेवा एक हजार ४११ जनाले लिएका छन् । आँखा चेकअपमा एक हजार २११ जना, दाँतको सेवा ७०२ जनाले, ८८ जना गर्भवती महिलाले भिडियो एक्सरे सेवा लिएका छन् । रगत, खकार, दिशा, पिसाबको परीक्षण २२७ जनाले गराएका छन् ।

जनताको स्वास्थ्य राम्रो भएमा मात्र नगरपालिका समृद्ध बन्ने भएकाले शिविर सञ्चालन गरिएको नगर प्रबक्ता शारदामाया तामाङले बताउनुभयो । शिविर मात्र नभएर नगरपालिकाले वृद्धलाई घरमै चेकजाँचको व्यवस्था मिलाएको, गर्भवती महिलालाई विशेष रेखदेख भइरहेको र टोलटोलमा महिनाको एक पटक सामान्य चेकजाँच गरी औषधी निःशुल्क उपलाब्ध गराइरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले स्वास्थ्य सेवा प्रभावकारी रुपमा दिएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् । वडा नम्बर ११ का रामबहादुर बस्नेतले जिल्ला अस्पतालमा गएर मात्र पाउने सेवा गाउँमा नै पाउँदा खुशी लागेको बताउनुभयो । शिविरले जिल्ला अस्पताल जान नसकेर गाउँमै रोग पालेर बसेका कतिपय सर्वसाधारणले सेवा लिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार