जडौली चप्पल लगाउने हामीसँग चिल्ला कार र महल कहाँबाट आए ? (भिडियो)

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेताहरुको सम्पति छानबिन गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै विगतलाई हेर्दा धेरै नेताहरुको आर्थिक हैसियत र जीवनशैली अस्वभाविक देखिएको बताए । उनले भने, ‘यसमा छानबिन हुनुपर्छ ।’ 

‘हिजो हामी साथीहरुले दिएको जडौली लुगा लगाएर हिँड्थ्यौं। साथीहरुले दिएको चप्पल लगाएर हिँड्थ्यौं’ प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले भने ‘आज हामी कसरी सुटेड बुटेड भएका छौं? कसरी चिल्ला कार चढेर हिडेका छौं? कसरी हाम्रा महल छन्।’

‘सम्माननीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा लाग्यो, त्यो भन्दा अलि राम्रो छ मेरो घर गोरखामा। त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्री अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं?’ उनले प्रश्न गरे ‘म अलिकति गणितमा चासो राख्ने मान्छे हुँ। अर्थमन्त्री पनि भइटोपलेको मान्छे हुँ। मैले जति लाख प्रयत्न गर्दा पनि हाम्रो कमाईले त्यो बुकुरो घरबाट काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन। यसको छानबिन गरौं। त्यसको निम्ति सबैसँग आग्रह गर्न चाहन्छु।’  

भट्टराईले सरकारको दुई वर्षे कार्यकाल ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन्। ‘सरकारको दुई वर्षे कार्यकाल ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको नै मैले बढी सुन्ने गरेको छु। कतिपय मान्छेहरुले त दुई वर्षे कार्यकाल खेर गएको वर्ष पनि भनेका छन्’ उनले भने ‘फेरि पनि ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ भने झैं अथवा हाम्रो संस्कृतमा ‘एकम सत्य बिप्र बहुदा बदन्ती’ भनेर आ–आफ्नै सोच अनुसार एउटै सत्यलाई पनि मान्छेले अलगअलग ब्याख्या गर्छ।’

उनले आफु प्रधानमन्त्री हुँदा कानुनसम्मत नै काम गरेको दाबी गरेका छन्। उनको मन्त्रिपरिषदले मातातिर्थ, महादेवस्थान सतुंगल, इशंखुलगायतको क्षेत्रमा मोहीहरुले कमाउँदै आएको जग्गालाई दर्ता गर्ने निर्णय गरेको थियो ।

‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ भनेझैं भर्खरैको ललितानिवास प्रकरणले हामी सबैलाई झस्काएको छ’ भट्टराईले भने ‘ललितानिवास जग्गा प्रकरणभन्दा यो फरक हो। ललितानिवासमा ठूला घरानाका अन्त्यतै बहुमुल्य जग्गा थियो। हामीले पनि जानेर नजानेर अन्त्यमा केही निर्णय गर्न पुग्यौं।  तर मातातिर्थ क्षेत्रको जग्गाको कुरा बिलकुलै अलग कुरा हो।’

भट्टराईले थपे ‘जुन दिन प्रधानमन्त्री यो विषयमा बोलिदिनु भयो, त्यहाँका गरिब जनता धेरै आत्तिएका छन्। रातभर सुतेका छैनन्। बालबालिका स्कूल नै नगएर बसेका छन्। यो जग्गा भनेको राजा महेन्द्रकै पालमा फर्माएसी बिर्ता भन्ने हुँदो रहेछ। फर्माएसी प्रथा भनेको कमाएर खाने खुद दरबारमा बुझाउने प्रथा रहेछ।’ 

उनले त्यहाँको जग्गा चर्चा गरिझैं कसैलाई नदिएको र नबाँडिएको बताए। ‘यो जग्गामा भूमाफियाले  पनि चलखेल गरेकी भन्ने आशंका थियो तर त्यहाँ गएर हेर्दा सानो घरहरु बनाएर गरिब नै बसेको पाएँ’ उनले थपे ‘यो जग्गामा कुनै प्रक्रिया मिचेर दिएको देखिँदैन्। मोही र जोताहाको नाममा दर्ता हुनु कम्युनिस्ट र कांग्रेसलगायत राजनीतिक दलहरुको लाइन पनि हो। कानुनी रुपमा सबै विधि प्रक्रिया पुगेको छ, कुनै त्रुटि छैन्। अब नैतिक रुपमा बाुबराम भट्टराईले छोराछोरीको नाममा कतै पाएको छ की भनेर हेर्नुहुन्छ भने पनि हेर्नुस्। कहीँ पनि तपाइँले भेट्नुहुन्न। त्यहाँ सबै गरिब किसान मात्रै छन्।’

उनले देश भ्रष्टाचारले थिलथिलो परेको बताए। उनले क्यान्सर लागेझैं थला परेको दाबी गर्दै भने ‘क्यान्सरले हामी सबैलाई खाने हो। मलाई लाग्ने क्यान्सर चैं राम्रो तपाइँलाई लाग्ने चैं खराब हुने भन्ने हुँदैन। यसको सामूहिक उपचार खोज्नुपर्ने ठाउँमा कतै हामीले एक अर्कामा दोषारोपन गर्ने म चोर भए तँ पनि चोर होस भनेर जाने यस्तो विधिको नियम त पक्कै पनि हुँदैन।’

उनले केही दिअघि कमिसन काण्डमा मुछिएका निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणलाई विषयान्तर गर्न खोजिएको आशंका गरे। ‘यो राजनीतिक प्रतिशोध हो कि विषयान्तर गर्न खोजिएको हो की भन्ने विभिन्न आशंकाहरु छन्’ उनले भने ‘फेरि पनि दुई तिहाइ, बहुमतको नजिक भएका कम्युनिस्ट प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने म देख्दिनँ। उहाँ बलियो हुनुहुन्छ भन्ने म ठान्छु। प्रंधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्ने म कुनै कारण देख्दिनँ।’ source : annapurnapost.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार