नेकपा सोलुखुम्बुले गठन गर्यो ४५ सदस्यीय सचिवालय

सन्तोष राउत/सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुले ४५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । शुक्रबार दिउँसो सदरमुकाम सल्लेरीमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्ला सचिवालय गठन गर्दै केही समयअघि तिङलामा भएको घटना मुख्य एजेण्डाका रुपमा प्रस्तुत गरिएको नेकपा स्रोतले जनाएको छ ।

नेकपा केन्द्रीय सदस्य तथा संघीय सांसद एवं सोलुखुम्बु जिल्लाका इन्चार्ज हेमकुमार राई (सुरवीर)को प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी अध्यक्ष तथा नेकपा १ नं. प्रदेश कमिटी सदस्य मानवीर राईको अध्यक्षतामा भएको बैठकले पूर्व एमालेको तर्फबाट २४ जना र पूर्व माओवादीको तर्फबाट २१ जना गरी ४५ सदस्यीय सचिवालय गठन गरेको हो ।

१३७ सदस्यीय जिल्ला कमिटी रहेको सोलुखुम्बुमा इन्चार्जको फेरबदलका कारण लामो समयदेखि जिल्ला कमिटीको बैठक बस्न सकेको थिएन । यसअघि पार्टी केन्द्रले जिल्ला इन्चार्जको बारेमा पार्टी निर्णय गर्दा त्रुटी हुन गएकाले सोलुखुम्बुको सांगठनिक गतिमा अप्ठ्यारो भएको र जिल्ला कमिटीको बैठक बस्नमा ढिला भएको अध्यक्ष मानवीर राईले बताउनुभएको थियो ।

सोही अवसरमा बैठकले केही समयअघि सोलुदूधकुण्ड नगरपालिकाको तिङलामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन यसअघि गठित अध्ययन तथा सुझाव समितिको प्रतिवेदन कार्यालयले बुझ्ने र उक्त प्रतिवेदनको आधारमा आन्तरिक वा बाह्य निर्णय गर्ने निर्णय गरेको छ । माघ ४ गते पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटनलाई लिएर स्थानीय र कायक्रममा जाने युवाहरुबिच असहज परिस्थिती सिर्जना भएपछि दर्जन बढी सवारीसाधनमा आगजानी गरेका थिए ।

बैठकमा जिल्ला कमिटी सदस्यहरुले यस घटनाबारे पार्टीले गम्भीर भई पहलकदमी लिनुपर्ने माग गरेका थिए । बैठकले पूर्व एमालेका जिल्ला सचिव हर्कबहादुर राईलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ भने प्रदेश खेलकुद बोर्ड सदस्यका लागि सिफारिस गर्ने निर्णय समेत गरेको नेकपा स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार