हल्लाको पछि नलागाैं, चार महिनालाई पुग्ने औषधि मौज्दात छ

काठमाडौं फागुन २२ गते । बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन् ।

नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना समेत गरेको उहाँले बताउनुभयो ।

नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीहरु सँग रहेको जानकारी दिदै हल्लाको पछि लागेर अनावश्यक औषधि खरिद गरेर नराख्न सर्वसाधारणलाई महासचिव आचार्यले आग्रह गर्नुभयो ।
हिजो मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गर्नुभएको समेत महासचिव आचार्यले जानकारी दिनुभयो ।

बिभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकोले औषधिको बारेमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उहाँले सपष्ट पार्नुभयो ।
यता औषधि उत्पादन गर्दै आएको नेपाल औषधि उत्पादक संघले नेपालमा ७० देखि ८० प्रकारका औषधि आफूहरु उत्पादन गर्न सक्षम भएको बताएको छ ।

नेपालमा धेरै औषधि यही उत्पादन हुने भएकोले औषधि अभाव हुन नदिन व्यवसायीहरु छलफलमा लागि रहेको नेपाल औषधि उत्पादक संघका महासचिव बिप्लब अधिकारीले जानकारी दिनुभयो ।
भारत र चीनबाट औषधि आउन रोकिहाले पनि बंगलादेश लगायत अन्य देशबाट कच्चा प्रदार्थ ल्याएर औषधि बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

सरकारले कच्चा प्रदार्थ ल्याउन सहजीकरण र सहुलियत गरे स्वदेशी औषधि कम्पनीहरू उत्पादन गर्न सक्षम भएकोले आत्तिहाल्ने अवस्था नरहेको अधिकारी बताउनुहुन्छ । यसै गरी औषधि आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड भारत प्रस्थान गर्नुभएको छ ।

नेपालमा औषधि अभाव हुन नदिन भारत सरकार सँग कुरा गर्न आजै भारत प्रस्थान गर्न लागेको र आफू विमानस्थल पुगेको राज्यमन्त्री दुगडले गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।
भारतले नेपालमा चाहिने अत्यावश्यक औषधिको लिष्ट मागेको जानकारी दिदै यस बिषयमा पनि भारतीय अधिकारीहरूसँग छलफल हुने उहाँले जानकारी दिनुभयो ।

भारतले कोरोनाको प्रकोपका कारण विदेश निर्यात हुने औषधिमा रोक लगाउने भए पछि नेपालमा औषधिको अभाव हुने आशंका देखिएको थियो । -मुकुन्द गैरे /गोरखापत्र अनलाइन

भारतले कोरोनाको प्रकोपका कारण विदेश निर्यात हुने औषधिमा रोक लगाउने भए पछि नेपालमा औषधिको अभाव हुने आशंका देखिएको थियो । -मुकुन्द गैरे /गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार