२१ लाख बढीको शैक्षिक सामग्री वितरण

विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यपालिका सदस्य शारदामाया तामाङ

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको चार वटा स्थानीयतहका ६० वटा विद्यालयलाई करिब २१ लाख रुपियाँ भन्दा बढीको शैक्षिक सामाग्री वितरण गरिएको छ । प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्ट नेपालले सोलुदूधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हमू गाउँपालिका, लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिकाका विद्यालयलाई सामग्री वितरण गरेको हो ।

विगत लामो समयदेखि सोलुखुम्बुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्थाले जिल्लाको शैक्षिक सुधार गरी सरकारको गुणात्मक शिक्षा पु¥याउने लक्ष्य पूरा गर्नका लागि विभिन्न विद्यालयहरुलाई कापी, पेन्सिल, मसलन्द सामग्रीलगायत विद्यालयमा प्रयोग विभिन्न किसिमका शैक्षिक सामाग्रीहरु उपलब्ध गराएको हिमालयन ट्रष्ट नेपाल सोलुखुम्बुका कार्यक्रम संयोजक नवबहादुर भुजेलले जानकारी दिनुभयो ।

आर्थिक रुपमा विपन्न बालबालिका रहेका क्षेत्रहरुमा ट्रष्टले दिएको शैक्षिक सामाग्रीहरुले विद्यार्थीलाई विद्यालय आउनका लागि सहज भएको दोर्पु आधारभूत विद्यालय सल्लेरीका शिक्षक गणेश विवश क्षेत्रीले बताउनुभयो । आफ्नो विद्यालयमा ट्रष्टको सहयोगले प्रशासनिक काम तथा विद्यार्थीहरुलाई पठनपाठनमा सहज भएको उहाँको भनाइ छ ।

यसअघि विद्यालयहरुमा नेपाल सरकारले माध्यामिक तहसम्म निःशुल्क पाठ्यपुस्तक उपलब्ध नगराउँदा कक्षा १० सम्मनै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको र पछिल्लो समयमा सरकारले उपलब्ध गराउन थालेपछि अन्य सामग्रीहरुमा जोड दिन थालेको विद्यालयले बताएकाछन् ।

सामग्री हस्तान्तरण गर्दै सोलुदूधकुण्ड नगरपालिकाकी कार्यपालिका सदस्य तथा नगर प्रवक्ता शारदामाया तामाङले ट्रष्टको सहयोगले दुर्गमका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाईमा सहयोग मिलेको बताउनुभयो । सहयोगलाई विद्यालयले अधिकतम प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने उहाँको सुझाव छ ।

ट्रष्टले शुरुवातका वर्षहरुमा २० दिने आधारभूत प्राथमिक शिक्षक तालिम छ वर्षसम्म दिएर सरकारी सेवाकलीन साँढे दुई महिने तालिमको मान्यता दिलाएको र त्यसपछि समय समयमा शिक्षकहरुलाई छोटो समयको तालिम समेत प्रदान गर्दै आएको उहाँले बताउनुभयो । संयोजक भुजेलका अनुसार संस्थाले वर्षौदेखि शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएको छ । संस्थाले कम्प्यूटर ल्याब, खानेपानी, विद्यालय भवन तथा शौचालय निर्माणमा सहयोग गरिहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार