सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीयस्थल लुकेको हिराको नामले परिचित पिकेडाँडाको प्रचार प्रसारका लागि आयोजना गरिएको माउण्टेन लिडर तालिमले व्यवसायी उत्साहित भएका छन् । पिके क्षेत्रको पर्यटन पर्वद्र्धन गरी देशलाई आर्थिक समृद्धिमा अब्बल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
सोलुखुम्बुको जन्तरधापबाट सुरु भएको तालिम जिल्लाको पिके हुँदै सल्लेरीमा आएर समापन गरिएको दुई हप्ते तालिममा पुरुष तथा महिला गरी ११ जनाको सहभागिता रहेको थियो । माउण्टेन लिडर बन्नका लागि धेरै चुनौति रहेको भएपनि तालिमले अझ आत्मविश्वास र उत्साह तालिमका सहभागीहरुले बताएका छन् । विगतका वर्षदेखि पथप्रदर्शकका रुपमा काम गर्ने खड्गबहादुर खत्रीले स्थलगत अध्यासात्मक रुपमा भएको तालिम धेरै प्रभावकारी भएको भन्दै यस क्षेत्रमा काम गर्ने सबैले यस्तो तालिम लिन आवश्यक रहेको बताउनुभयो ।
नेपालका धेरै पर्यटकीयस्थलको अझै प्रचार प्रसार अभावका कारण मनोरम स्थलमा पर्यटक ल्याउन नसक्दा स्थानीयको आर्थिक स्थितीमासमेत उल्लेख्य सुधार हुन नसकेको नेपाल पर्वतारोहण सङघका माउन्टेन लिडर तालिम संयोजक लक्ष्मण तामाङले बताउनुभयो । तालिममा नक्सा प्रयोग, कम्पास प्रयोग, आपत्कालीन सेल्टर बताउने तरिकालगायत धेरै तरिका हिमाललाई देखाएर स्थलगत तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।
कतिपय यस क्षेत्रमा लागेका यूवाहरु आर्थिक स्थिती मजबुत बनाउने उद्देश्यले पर्यटकलाई गाईडिङ गर्दागदै माउण्टेन लिडर बन्ने गर्छन । उनीहरुलाई प्राकिृतिक विपद् र आईपर्ने जुनसुकै समस्या समाधानका लागि आवश्यक ज्ञान नहुँदा उनीहरुको ज्यानै जोखिममा पर्ने गरेको छ ।
माउण्टेन लिडर बन्नका लागि शारीरिक रुपमा व्यक्ति, शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुपर्छ भने टे«किङ गाईड तालिम लिए सोसँग सम्बन्धित अन्य तालिमका चरणहरु पार गर्नुपर्ने हुन्छ । दक्ष लिडर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल माउन्टेन लिडर एसोसियसनका अध्यक्ष केशर श्रेष्ठको भनाइ छ ।
नेपालमा सरकारी तवरबाट हालसम्म माउण्टेन लिडर बनाउनका लागि कुनै पनि ठोस कदम चालिएको छैन । जसका कारण वर्षेनि मानवीय क्षति र भौतिक क्षति हुने गरेको व्यवसायी बताउँछन् । नेपाललाई आर्थिक हिसाबले मजबुत बनाउनका लागि पर्यटकीयस्थलको सरसफाई र भौतिक संरचना निर्माणमा जोड दिन आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ । प्रचार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यस्थल बन्न सक्ने पर्यटन व्यवसायी बताउँछन् ।