कोटेश्वर–कलङ्की खण्डमा नयाँ ट्राफिक नियम

काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा सवारीसाधनका लागि नयाँ नियम कार्यान्वयनमा ल्याइने भएको छ ।
नियमअनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारीसाधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र गुड्न पाउने छन् । चक्रपथको सो खण्डमा चैत २ गतेबाट यो नियम कार्यान्वयनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालना गराउन उक्त नियम लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र विस्तारै गुड्ने गाडी बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यून हुने अपेक्षा गरिएको छ ।’’
मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना
मुलुककै पहिलो आठ लेनको सो सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क रहेको महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारीसाधनले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीका कारण चक्रपथको सो खण्डमा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
महाशाखाले उक्त सडक खण्डको मुख्य लेनमा ५० र सर्भिस लेनमा २० किमी प्रतिघण्टाका दरले गति निर्धारण गरेको छ  । -गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार