सोलुखुम्बुमा यस्तो छ एसइई परीक्षाको तयारी

सन्तोष राउत/ सोलुखुम्बु। शैक्षिक सत्र २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) को सोलुखुम्बुमा सबै तयारी पूरा भएको छ । १४ वटा परीक्षा केन्द्र रहेको सोलुखुम्बुमा केन्द्राध्यक्ष चयनदेखि सबै समाग्री सहित परीक्षा केन्द्रमा पुग्ने काम सकिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चैत ६ गतेबाट शुरु हुने परीक्षामा सोलुखुम्बुबाट एक हजार ८३४ जना परीक्षार्थी सहभागी हुनेछन् । जसमा ग्रेड बृद्धितर्फ १२ जना र खुलातर्फ २६ जना विद्यार्थी रहेका छन् । सदरमुकाम बाहेक भौगोलिक रुपमा टाढा रहेका केन्द्रहरुमा केन्द्राध्यक्ष पुगेर स्थानीय परिवेशअनुसार समन्वय गर्न थालेको बताएका छन् ।

लुक्ला आधारभूत विद्यालय केन्द्रका केन्द्राध्यक्ष राजन कार्कीकाअनुसार परीक्षा केन्द्रमा पुगेर आवश्यक तयारी भइरहेको बताउनुभयो । परीक्षालाई मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समितिको टोलीले परीक्षा केन्द्रमा अनुगमन तथा निरीक्षण गर्ने प्रभावकारी व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।

विश्वलाई त्रासमा पारिरहेको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै परीक्षा अवधिभर हेल्थ डेस्क सञ्चालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एकजना हेल्थ असिस्टेन्ट र एकजना अहेव रहने गरी हेल्थ डेस्क स्थापना गरिने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभभयो ।

औषधी र उपकरणसहित राखिने स्थास्थ्यकर्मीले राघाखोकी, ज्वरो आएका विद्यार्थीलाई चेकजाँच गरी कोरोनाको लक्षणको शङ्का लागेमा आवश्यक परामर्श दिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार