सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुका विभिन्न विद्यालयका करिब आठ सय विद्यार्थीलाई झोला वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
लायन्स क्लब अफ काठमाण्डौ (क्यापिटल) र नेपाली काँग्रेसका नेता, उद्योग व्यवसायी तथा समाजसेवी प्रकाशसिंह कार्कीको समन्वयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई एक/एक वटा झोला वितरण गरिएको हो । अधिकांस आर्थिक अवस्था कमजोर भएका बालबालिका अध्ययन गर्ने सामूदायिक विद्यालयमा पाठ्यपुस्तक बोक्न झोला वितरण गरिएको कार्कीले बताउनुभयो । कार्कीले भोकालाई भोजन दिनुले ठूलो अर्थ राख्ने भन्दै जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गरिरहने बताउनुभयो ।
झोला अभावमा कापी किताब हातमा च्याप्नुपर्ने बाध्यता रहेकोमा झोला पाएपछि अब सजिलो हुने नयाँ झोला पाएकी महेन्द्रोदय माध्यामिक विद्यालयकी मनिषा बस्नेतले बताउनुभयो । आफ्ना अभिभावकले अर्काकोमा ज्याला मजदुरी गरेर पढाउँदै आएकाले झोला किन्न नसकेको अवस्थामा निःशुल्क झोला पाएपछि अब सजिलो हुने बताउनुभयो ।
झोलाले विद्यार्थीसँगै आर्थिक अवस्था कमजोर अभिभावकलाई पनि राहत दिलाएको छ । लायन्स क्लब अफ काठमाण्डौ (क्यापिटल)का अध्यक्ष मन्दिरा बस्नेत कार्कीले सानो सहयोग गरेर भएपनि शिक्षा आर्जनमा टेवा पु¥याउने उद्देश्यले झोला वितरण गरेको बताउनुभयो ।
लायन्स क्लब अफ काठमाण्डौ (क्यापिटल)ले सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाको वरबोट आधारमूत विद्यालय, नेचासल्यान गाउँपालिकाको महेन्द्रदोय, सरस्वती, बालज्योति, चन्द्रज्योति, बालकन्या, रुङगास्थानी, विष्णुछायाँ, भूमेश्वरी, सगरमाथा, शहिद स्मृती, सरस्वती छितापातल, जनदिव्य र भगवती आधारभूत विद्यालय र महेन्द्रदोय माध्यामिक विद्यलायका सबै विद्यार्थीलाई झोला वितरण गरेको हो ।