कोरोना उपचार : हतियार विनाको लडाईं

भानुभक्त निरौला

‘मलाई हेर्न अहिलेसम्म एक जना डाक्टर पनि आएका छैनन्, अस्पतालमा छु उपचार केही भएको छैन’ धनगढीका कोरोना संक्रमित ३४ बर्षिय यूवाको प्रतिक्रिया । सेती प्रादेशिक अस्पतालको शैयामा ती संक्रमित यूवा उपचारको पर्खाइमा छन् । सरकार संक्रमित सबैको उपचार भइरहेको दाबी छाड्दैन । अस्पतालमा बिरामीको उपचार गर्न चिकित्सक तयार छैनन् । स्वास्थ्य जाँच तथा उपचारका लागि पिपिई जस्ता आवश्यक सुरक्षा कवजको व्यवस्था नहुँदा आजका मितिसम्म चिकित्सकले विरामीको नाडी छाम्ने अवस्था छैन ।
संक्रमितसँग अस्पतालमा भगवानको नाम जप्नुको विकल्प छैन । प्रादेशिक अस्पतालको त यो हाल हुँदा जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थाको कुरा गर्दा लाज नै लजाउन सक्छ । लक डाउनको राम्रो निर्णय गरेको सरकारले यसको भरपुर उपयोग गर्ने कुरामा भने राम्रोसँग चुक्यो । स्वास्थ्य सामाग्रीको डेलिभरीमा कमजोर प्रदर्शन गरेको सरकारी संयन्त्रले परीक्षणको दायरा समेत बढाउन सकेको छैन । कोरोना परीक्षणको नाममा डण्ठा(लाठी) दिएर प्रहरीलाई ठाउँ ठाउँमा खटाइएको छ । प्रहरीसँगै कमसल अवस्थामा रहेका फिभर गन लिएर गौँडा तिर अहेवहरु ज्यानको बाजी लगाएर परीक्षण गरिरहेका छन् । परीक्षण कार्यमा खटिने प्रहरी र स्वास्थ्यकर्मी स्वयम् संक्रमणको जोखिममा छन् । ठाउँ ठाउँमा खडा गरिएका स्वास्थ्य परीक्षण केन्द्रमा आवश्यक सुरक्षा र उपकरणको अभावमा स्वास्थ्यकर्मी र शुरक्षाकर्मीले ठूलो जोखिम मोलिरहेका छन् । पिपिई सेटको त कुरै छाडौँ मेडिकल मास्क समेतको अभाव छ गाउँमा । आधारभूत तहको जोहो हुन नसकेको देख्दा राज्य बिहीनताको महशुस नागरिकमा हुने गरेको छ । ग्रामिण भेगका जनता सरकारको साथमा छन् । किनकी उनीहरुले लक डाउनलाई साथ दिइरहेका छन् । तर जनतासँग राज्य कतिको दरिलो रुपमा उपस्थिती जनाइरहेको छ भन्ने सवाल पेचिलो बन्दै गएको छ ।
गाउँमा बढ्दो जोखिम
विदेशबाट आएकाहरु यति खेर सर्वाधिक खोजिको सूचीमा छन् । तर उनीहरुको स्वास्थ्य परीक्षण गर्न सितिमिति कोही तयार हुँदैन । विदेशबाट आएकाहरु आफैँ पनि अग्रसर नहुँदा संक्रमण भुसको आगो जस्तै फैलिरहेको त छैन ? भन्ने प्रश्न जनजनमा उब्जिरहेको छ । किनकी परीक्षणको दायरा फैलिन सकेको छैन । कोरोना भय शहर भन्दा गाउँमा बढी छ । किनकी यहाँ विदेश र शहर सबैतिरबाट सुरक्षित हुनका लागि मान्छेहरु आएका छन् । उनीहरुले निर्वाध रुपमा भेटघाटमा दौडिरहेका छन् । यता गाउँका रैथानेहरुको भने शहरीयाहरुले ल्याएको कोरोना कोशेलीको त्रासले निन्द्रा हराम भईरहेको छ ।
पहिला शहर थियो अहिले गाउँ बढी असुरक्षित छ । गाउँमा लक डाउनको कडाईका साथ पालना भईरहेको छैन । यो स्तम्भकार लकडाउनको तेस्रो दिन कुनै एउटा गाउँमा रिपोर्टिङको लागि पुग्दा गाउँलेहरु भेला भएर तास खेलिरहेका थिए । उनीहरुको जमघट हेर्दा लाग्थ्यो, तिहारनै शुरु भएछ जस्तो । समूहमा भेला भएर तास र भलिबल खेल्नु ग्रामिण भेगको दिनचर्या जस्तै छ । त्यो समूहलाई आजसम्म लकडाउनले कहिल्यै छुन सकेन । त्यो समूहको सदस्यमा ठूलै आहोदाका मान्छेसम्म सामेल हुने गरेका छन्, दिन कटाउने बहानामा ।
एक स्थानीय तह–एक परीक्षण ल्याब
हामी संक्रमितको संख्या कम भएकोमा दङ्ग छौँ । एक हजार हाराहारीमा परीक्षण गरेर आएको नतिजाकै आधारमा ढुक्क हुने अवस्था छैन । परीक्षणको दायरा बढाएर हरेक स्थानीय तहसम्म पुर्याउने हो भने मात्रै वास्तविक तथ्याङ्क आउन सक्छ । तीनै तहको सरकारले बजेटलाई एकतृत गर्ने हो भने परीक्षण ल्याब स्थापना गर्न कुनै चुनौतिको विषय होईन । केवल ईच्छाशक्ति आवश्यक छ । अहिले पनि कतिपय स्थानीय तहले धेरै उदाहरणीय काम गरेका छन् । क्वारेण्टाइन स्थापना, गाउँ गाउँमा स्वास्थ्य परीक्षण, विपन्नहरुलाई राहत प्याकेज जस्ता निर्णय गरेर जनतालाई राहत दिने प्रयत्न गरेको देखिन्छ । तर यतिले मात्रै संभावित महामारीको सामना गर्न निकै कठिन हुने देखिन्छ । विश्वका प्रभावित देशको अभ्यासलाई हेर्ने हो भने नेपालको स्थिति निकै भयावह नहोला भन्न सकिन्न । बेलायतकी महारानी, प्रधानमन्त्रीदेखि अमेरिकामा हजारौँको संख्यामा फैलावट हुनु र ईटलीको मृत्यूको दरलाई नियाल्दा हामीमा केही भइहाल्यो भने भगवान भरोसा भनेर बस्नुको विकल्प देखिदैन ।
पहिलो चरणमै रोकथाम गर्न प्रायः असम्भव भएको यो अवस्थामा दोश्रो चरणमा निमिट्यान्न पार्न राज्यले कामको गति बढाउन ढिलो गर्नु हुन्न । सुविधा सम्पन्न परीक्षण ल्याब र उपचार कक्षको निर्माण र सुसञ्चालन टड्कारो आवश्यकता हो । तसर्थ विश्वासिलो र भरपर्दो संयन्त्र निर्माण गरी रोकथाममा लाग्ने हो भने कोरोना माथिको विजय संभव होला की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार