सोलुखुम्बुमा २९० बेडका क्वारेन्टाइन, विदेसबाट आएका क्वारेन्टाइनमा

सन्तोष राउत/ सोलुखुम्बु । नेपालमा समेत देखा परेको नेबेल केरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सोलुखुम्बुमा २९० बेडका क्वारेन्टाइनको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै पालिकामा क्वारेन्टाइन तयार गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिकाले ७५ बेडको सुविधा सम्पन्न क्वारेन्टाइन र चार वटा एम्बुलेन्सको व्यवस्था गरेको छ । सदरमुकाममा १७ बेड, केरुङ स्वास्थ्य चौकीमा आठ र टाप्टिङको वाङछु शेर्पा मेमोरियल अस्पतालमा ५० बेडको क्वारेन्टाइन बनाइएको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो । नगरले १० लाख रुपियाँको उपचार कोष खडा गरेको र स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री सहित कार्यस्थलमा खटाइएको उहाँको भनाइ छ ।

त्यस्तै, थुलुङदूधकोशी गाउँपालिकामा प्रत्येक वडामा १५ वटाका दरले जम्मा १३५ बेडको क्वारेन्टाइन बनाइएको अध्यक्ष असिम राईले जानकारी दिनुभयो । विदेसबाट आएकालाई घरमै स्वास्थ्यकर्मी पठाएर चेकजाँच गरी होम क्वारेनटाइनको व्यवस्था गरिएको र अन्यको खोजी भइरहेको उहाँको भनाइ छ ।

माप्यदूधकोशी गाउँपालिकामा सबै सुविधा सहित पाँच बेडको क्वारेन्टाइन र पाँच बेडको आइसोलेसन वार्ड तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले जानकारी दिनुभयो । गाउँपालिकमा विभिन्न समयमा विदेसबाट आएका नौ जनालाई प्रत्यक्ष निगारानीमा घरमै क्वारेन्टाइनमा राखिएको र कितपयको दुई साताको समय सकिएको उहाँले बताउनुभयो ।

त्यस्तै, महाकुलुङ गाउँपालिकामा एकै स्थानमा २५ बेड, नेचासल्यान गाउँपालिकामा दुई स्थानमा १२ बेड, सोताङ गाउँपालिकामा एक स्थानमा ९ बेड, लिखुपिके गाउँपालिकामा दुई स्थानमा २५ बेड र खुम्बु पासाङल्हमू गाउँपालिकामा चार वटा टेन्टमा क्वारेन्टाइनको व्यवस्था गरिएको सहायक प्रजिअ शाहीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार