शासक मनोवृत्ति : कात्रो किन्दा पनि भ्रष्टाचार

ल्हाक्पा शेर्पा

देश यस्तो महासंकटमा फसेको अवस्थामा पनि भ्रष्टाचारको बिषय उठ्नु आफैँमा लाजमर्दो बिषय हो । ‘अरुलाई के को धन्दा, घरज्वाईलाई खानुकै धन्दा’ भन्ने नेपाली उखान झैं आम नेपाली जनता यो महाविपत्तिमा फसेको बेला सरकार भने कमिसन र घुसमा नाङ्गो रुप देखाएर निर्लज्जता प्रदर्शन गरिरहेको छ । चीनको वुहानमा कोरोना भाईरस संक्रमित भेटिएसंगै आजसम्म दुई सय भन्दा बढी देशमा कोरोना संक्रमण फैलिसकेको छ । चीनपछि नेपाल पाँचौं देशको रुपमा संक्रमण भित्रिएको देश हो । चीनबाटै आएको एक यूवामा कोरोना संक्रमण पुष्टि भएको थियोे । त्यो करिब तीन महिना भन्दा अघिको कुरा हो । यतिका समय हुँदा पनि सरकारको तयारी खै, अझ विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्व जोखिमको अवस्था भनेर सचेत गराएको पनि महिनौं भैसक्यो । यी अवधिभर सरकार के हेरेर बस्यो ? सरकार पुर्व तयारीमा किन लागेन ? यसको उत्तर सरकारले दिनु पर्छ ।
अहिले ‘कोभिड १९’ संक्रमितलाई चेक गर्ने किट नक्कली छ, भनेर स्वयम् स्वास्थ्यकर्मीहरुले भनिरहेका छन्, यो सामन्य बिषय होईन, यहीँ गुणस्तरहीन किटमा परीक्षण गर्दा नेगेटिभ देखिएको ब्यक्तिमा कथंकदाचित पोजेटिभ रहेछ भने अनि त्यो ब्यक्ति गाउँ घर शहर डुल्न थाल्यो भने स्थिति भयावह बन्नसक्छ । त्यसको जिम्मेवारी कस्ले लिन्छ ? अस्ति भरखर मात्रै कोरोना संक्रमण आशंकामै बलराम थापाले ज्यान गुमाउनु पर्याे, पहिलेनै चेक गरेर उपचार भएकोे भए थापाको ज्यान जोगिन्थ्योकी !! आज करिब पौने तीन करोड आम नेपाली यो जोखिमबाट बच्न सरकारकै निर्देशन पालन गरेर लकडाउनमा बसेका छन् । ती नेपालीहरुको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई छैन ।

गिद्धहरुलाई फूलबारीमा फुलेका सुगन्धित फूलहरुको वास्ता हुदैन, उसको जातनै सिनो खाने हो । जतिसुकै उराठ मरुभूमिमा पनि उ सिनोकै खोजीमा हजारौं माईल सवार गर्छ । हरेक दिन उ सिनोको खोजीमा भौतारी रहन्छ । राज्यको महत्वपूर्ण जिम्मेवारी लिएर बसेका केही जिम्मेवार ब्यक्तिहरु पनि सिनोमुखी गिद्ध झैँ । सारा देश नै यो महासंकटमा फसेको अवस्थामा भ्रष्टाचारमा मात्रै रमाउने, कमिसन र घुसनै जताततै देख्ने कस्तो बिडम्बना ।

लकडाउनका कारणले आज नेपाल भारतको सिमानामा हजारौंको संख्यामा नेपालीहरु अलपत्र अवस्थामा रोकिएका छन्, रोजिरोटीका लागि प्रदेशीयका यी नेपालीहरुलाई आफ्नो देश भित्र्याउनुका सट्टामा उल्टै जताबाट आएको हो उतै जाउ शैलीमा सरकार प्रस्तुत भएको छ । कोरोना संक्रमण बढेपछि अन्य देशहरुले फर्कन चाहने आ–आफ्ना नागरिकलाई फिर्ता लगिरहँदा हाम्रो सरकार भने मुकदर्शक भएर बसेको छ । दुबैतिर लकडाउन भएपछि मरे पनि मेरै देशमा गएर मर्छु भन्दै ज्यानै जोखिममा राखेर महाकालीमा हामफाली नाङ्गै आफ्नो देश आएका यूवालाई हिरासतमा राख्नुका सट्टा अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै, सम्झाई बुझाई क्वारेन्टाइनमा राख्नु पथ्र्यो, किनकि नागरिकको राज्य अभिभावक हो समस्यामा परेका आफ्ना नागरिकलाई पहिला समस्याबाट मुक्त गराउनु र पछि कानुन सिकाउनु राज्यको दायित्व हो । आज रोजगारीका सिलसिलामा विदेशीने यूवा सरकारको तथ्याङ्क अनुसार भारतमा मात्र १५ लाख र खाडी मुलुकमा ३५ लाख नेपालीहरु छन् । उनीहरुले तिरेको रेमिट्यान्स बार्षिक रुपमा करिब करिब नौ खर्व रुपियाँ देशका लागि भित्रिन्छ, त्यही रकमबाट आज देश चलेको छ तर आज कोभिड १९ संक्रमणबाट ज्यान जोगाउन आफ्नो देश फर्कन खोज्दा अलपत्र अवस्थामा पार्नु दुःख लाग्दो बिषय हो ।
मानवीय सेवामूलक उद्देश्यले खुलेका नीजि क्षेत्रका अस्पतालहरुले देश विपत्तिमा फसेको बेलामा आफुले सकेको सहयोग खुला हृदयले गर्नुपर्छ । सामान्य रुघाखोकी र ज्वारो देख्नेबित्तिकै बिरामीलाई गेटैबाट फिर्ता पठाउने कार्यले नीजि अस्पताल देश र जनताप्रति उत्तरदायी भएको देखिएन । यो महाविपत्तिले आम नेपालीमा संत्रास फैलिरहेको समयमा नीजि अस्पतालको यस्तो भुमिका पटक्कै सुहाउँदो खाले भएन, यसले निजि अस्पताल माथि पहिल्यैदेखि लाग्दै आएको ‘सेवाका नाममा लासमाथि व्यापार गर्छन्’ भन्ने आरोपलाई बल पुगेको छ । यस्तै व्यवाहार नीजि अस्पतालवालाहरुको रहिरहने हो भने जतिसक्दो नीजि अस्पतालहरुलाई राष्ट्रियकरण गर्नमा राज्यले बिलम्व गर्नु भएन ।

यी सबै कुरा सम्झिँदा आज दिक्क लागेर आउँछ, मनमा प्रश्न हरेक नेपालीलाई उठ्न सक्छ ।सरकार आज कहाँ अल्मलिएको छ ? सरकार भनेको त सम्पूर्ण राज्यको प्रशासनिक संयन्त्रलाई नै एक रुपमा सरकार भनेर चिनिने हो, यत्रो सम्पूर्ण शक्ति भएको संयन्त्र कहाँ गएर केमा भुलेको छ ? आज सायद प्रत्येक नागरिकको मनमा उब्जिएको प्रश्न यही हो, ‘स्याल कराउनु बाख्रो हराउनु’ भने झैँ कोरोना भाईरस संक्रमणको बेस्सरी हल्ला चलाएर, धन्दा भ्रष्टाचारको गर्ने काईदा यत्रो शक्तिशाली सरकारका जिम्मेवार अधिकारीले जानेर वा नजानेर रोजे भविस्यमा यो देशका लागि धेरै महंगो पर्ने निश्चित छ, किनकि यो महाविपत्तिको समयमा कात्रो किन्दा पनि भ्रष्टाचार गर्ने मनोबृत्ति कसरी मौलाएर गयो । यो सरकारले यसको निराकरण नखोजी सुख छैन । होईन भने स्वभिमानी नेपालीको शिर संधै निहुरिरहने छ । यो महशुस आज हरेक नेपालीजनको मनमनले गरेको छ । यो पक्कै पनि क्षमा योग्य बिषय होईन ।

लेखक ल्हाक्पा शेर्पा समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार