घरैमा पुगेर छात्रवृति वितरण

सन्तोष राउत, सोलुखुम्बु । लकडाउनका कारण विद्यालय बन्द भएपछि घरमै पुगेर रीड नेपालले छात्रवृति वितरण गरेको छ।
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका मा ५७ जना, सोलुदूधकुण्ड नगरपालिकामा ३४ जना, सोताङ गाउँपालिकामा ४७ जना, महाकुलुङ गाउँपालिकामा ४३ जना गरी जम्मा १८१ जनालाई छात्रवृति वितरण गरेको रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिनुभयो।
वर्तमान असहज परिस्थितिमा छात्रवृत्ति घरमा नै उपलब्ध गराइपछि अभिभावकहरुले खुसी ब्यक्त गरेका छन्।
सोलुदूधकुण्ड नगरपालिका ११ तिङलाकी अभिभावक लक्ष्मीमाया मगरले अहिलेको यस्तो संकटमा पनि घरमा नै आएर पैसा दिएर रीड नेपालले आफ्नो परिवारलाई ठुलो गुन लगाएको बताउनुभयो।
त्यस्तै अर्की अभिभावक गोमा सार्कीले आफुलाई निकै राहत महसुस भएको भन्दै धन्यबाद दिदै खुसी ब्यक्त गर्नुभयो। अन्य अभिभावक विद्यार्थीहरुले पनि छात्रवृति पाएपछि सहज भएको बताए।
अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रीड नेपालले विगत सात वर्षदेखि नियमित रुपमा सोलुखुम्बुका पाँच सय विपन्न परिवारका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई स्टेसनरी, ड्रेस र पढाई खर्चका लागि वार्षिक छ हजार रुपियाँ छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ।
त्यस्तै, पाँच जना छात्राहरुलाई कक्षा ९-१२ सम्मको प्राविधिक कृषि बालिविज्ञान शिक्षाको लागि गार्मा माविमा अध्ययनको लागि वार्षिक जनही ५० हजार रूपियाँ उपलब्ध गराउदै आएको छ भने एक जना छात्रालाई इन्जिनियर र एक जना छात्रालाई नर्सिङ कोर्ष समेत गराइ रहेको संयोजक गिरीले जानकारी दिनुभयो।
सामान्य खर्च अभावका कारणले कोही पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् र उमेर पुगेका कुनै बालबालिका विद्यालय बाहिर नरही विद्यालयमा नियमित हुन् भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको रीड नेपालका मुख्य कार्यकारी अधिकृत भिम बोगटीले बताउनुभयो।
समय अनुकुल हेरेर अन्य गाउँपालिकामा पनि छात्रवृत्ति वितरण गर्ने रीड नेपालको योजना रहेको र यसको लागि स्थानीय तहसँग समन्वय भइरहेको भन्दै छिट्टै बाँकी बालबालिकाहरुको पनि घरमा नै पुगेर छात्रवृत्ति वितरण गरिने शिक्षा संयोजक गिरीले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार