कोरोना सङ्क्रमित निको भएपछि सङ्क्रमितबिहिन बन्यो सोलु

सोलुखुम्बु । सोलुखुम्बुका एक मात्र कोरोना सङ्क्रमित युवा निको हुनुभएको छ । यही जेठ १५ गते सङ्क्रमण पुष्टि भएर विराटनगरमा उपचार गराईरहनुभएका सोलुदूधकुण्ड नगरपालिका–८ का २७ बर्षिय युवा निको भएको जिल्ला अस्पताल फाप्लुकी निमित कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।

करिब दुई साताको उपचारपछि पिसिआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको अस्पतालले जनाएको छ । उहाँलाई डिस्चार्जपछि पनि केही दिन होम क्वारेन्टाइनमा नै राखिने स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुखुम्बुमा पहिलो पटक कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि सोलुबासी त्रसित बनेका थिए । यससँगै सोलु कोरोनामुक्त बनेको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण सहित विरामी परेपछि फाप्लु अस्पतालको आईसोलेशनमा राखेर उपचारका क्रममा स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि थप उपचारको लागि कोरोना अस्पताल विराटनगर पठाइएको थियो ।

यूवामा सङ्क्रमण देखिएपछि उपचारमा संलग्न २९ जना स्वास्थ्यकर्मी र स्थानीय २० जना गरी ४९ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार