श्रीमती र छोरीलाई तान्न खोजेँ, सकिनँ, आफू हामफालेर बाँचियाे !

कालिकाेटमा भएकाे टिपर दुर्घटनामा क्षमताभन्दा बढी मानिस बोकेर रास्कोटतर्फ जाँदैगरेको टिपरका चालकले सामान्य कुरामा सन्किएर टिपर कर्णाली नदीमा हुत्ताएर जानीजानी दुर्घटना गराएको प्रत्यक्षदर्शीले आराेप लगाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार भारतबाट आएका ३८ जना टिपरमा रहेका थिए । उनीहरूले छिटो लैजान मात्र भनेका थिए । तर चालक रङ्गनाथ धमला सन्किएपछि ओरालोमा टिपर छोडेर आफू बाहिर भागेका थिए । जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख श्यामबाबु ओलियाले चालकको लापर्बाहीका कारणले दुर्घटना भएको बताउनुभयो ।

चालक नियन्त्रणमा आइसकेकाले वास्तविक कुरा खुल्ने बताउनुभयो । दुर्घटनाबाट जोगिएका यात्रीहरूले चालकले टिपर स्टार्ट गरेर आफू बाहिर हाम फालेको र टिपरलाई कर्णाली नदीमा हुत्ताएको दाबी गरेका छन् । दुर्घटनामा परी मृत्यु भएकी ठम्की सार्कीका श्रीमान् कमर सार्कीले आफूले श्रीमती र छोरीलाई तान्न खोज्दा पनि नसकेर आफू मात्र हामफालेर बचेको दुखेसो पोख्नुभयो । श्रीमती ठम्की सार्कीको पेटमा सात महिनाको बच्चासमेत रहेको उहाँले जानकारी गराउनुभयो ।

यसैबीच, नदीमा बगिरहेको अवस्थामा पलाँताका ललिजन बमले पौडी खेलेर दुई वटा लास निकालेकाे बताउनुभयाे ।
दुर्घटना गराएर भागेका चालक रङ्गनाथ धमलालाई प्रहरीले रेगिलबाट नियन्त्रणमा लिएको छ । बेपता दुई जनाको खोजी कार्यमा अहिले नेपाली सेना र स्थानीय प्रशासन खटिरहेको छ । प्रेमराज सिम्खडा/पुष्प भट्टराई, गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार