विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाविरुद्धको खोप निर्माणमा सकारात्मक नतिजाहरु आइरहेका छन् ।
तर, तत्काल कोरोनाविरुद्धको खोप र औषधि भने पत्ता लाग्ने सम्भावना देखिएको छैन ।
कोरोनाको खोप विकास भइनसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन भने आयुर्वेदिक औषधि र परम्परागत चिकित्सा पद्धति विकल्प हुनसक्छ ।
८६ वर्षीय आनन्द सिद्धि तुलाधरको अनुभवको आधारमा भन्ने हो भने ‘नी चोनिगु’ अर्थात् ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ उपत्यकाबासीलाई नौलो होइन, यो एक परम्पराजस्तै थियो ।
विगतमा काठमाडौंको असनमा रहेको यताचपालगायतका विभिन्न ठाउँमा विदेशबाट आएकाहरुलाई १४ दिनसम्म राख्न क्वारेन्टिनको व्यवस्था गरिएको थियो ।
क्वारेन्टिनमा बस्दा आफैंले खाना पकाएर खानुपर्ने, सुत्ने–बस्ने अलग्गै ठाउँ, अरुलाई छुन नहुनेलगायतका नियम रहेको उनको भनाइ छ ।
ल्हासालगायत विदेशबाट व्यापार–व्यवसाय गरेर फर्किएका व्यक्तिले यही घरमा क्वारेन्टिनमा बसेर चोक–चोकमा रहेको हिति अर्थात् धारा र तीर्थस्थलहरुमा नुहाएपछिमात्र घर प्रवेश गर्न दिइन्थ्यो ।
क्वारेन्टिनमा बस्दा कुनै संक्रमण नहोस् भनेर खालु अर्थात् चिराइतोको झोल खुवाइन्थ्यो ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न भस्म र जडीबुटी मिश्रित औषधि प्रयोगसमेत हुन्थ्यो । जसमा अश्वगन्धा, जटामसी, पाँचऔंले, निर्मसी, कुट्की, सतावरी, मुस्ली, विदारीकन्द, चिराइतो र गिलोइको बढी प्रयोग हुन्थ्यो ।
परम्परागत औषधिका जानकार मदनकाजी शाक्यकाअनुसार यी वनस्पति र जडीबुटी अहिले नियमित प्रयोग गर्नसके रोग प्रतिरोधात्मक क्षमता बढ्ने र संक्रमणबाटसमेत जोगिन सकिन्छ ।
घरको भान्छामा पाइने लसुन, बेसार, अदुवा, टिमुर, दालचिनी, ज्वानो, तितेपाती, पीपली, देवदारु, कालोमरिच, त्रिफला, तुलसी र कागती पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गर्ने सकिने उनको भनाइ छ ।
तुलाधरले अहिलेको युवापुस्ताले बिर्सिसकेकोको हाम्रो मौलिक परम्परा र पद्धतिलाई जोगाएर व्यवहारमा ल्याउनुपर्ने सुझाव दिन्छन् ।
सरकारले कोरोना महमारीमा रोग प्रतिरोधात्मक क्षमता बढाउन हाम्रै घर–आँगनमा पाइने जडीबुटी र आयुर्वेदिक औषधि प्रयोग गर्न सल्लाह दिइरहेको अवस्थामा यसको प्रयोग राम्रो विकल्प बन्नसक्छ । नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)