सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले केरुङ र गोराखानी जोड्ने सिसाखोलामा बन्ने मोटरेवल पुलको शिलान्यास गर्नुभएको छ । सोलुदूधकुण्ड नगरपालिका–८ केरुङ र वडा नं. ९ गोराखानी जोड्ने गरी चट्याङघाटस्थित सिसाखोलामा बन्ने मोटरेवलपुलको एक कार्यक्रमको आयोजना शिलान्यास गरिएको हो ।
साढे ३३ मिटर लम्बाइ, चार मिटर चौडाइ र ४० टन भारवहन क्षमता भएको पुल तीन करोड ६५ लाख रुपियाँमा (भ्याट सहित) निर्माण हुन लागेको हो । निर्माणको जिम्मादावा कन्ट्रक्सनले पाएको छ । नगरपालिकाले यसअघि नगरक्षेत्रभित्रका विभिन्न स्थानमा चार वटा मोटरेबल पुल निर्माण गरिसकेको छ भने सोलुखोलाको मोटरवेल पुलनिर्माणाधिन अवस्थामा छ ।
पुल शिलान्यासका अवसरमा मेयर शेर्पाले आगामी असोज भित्रै पुल निर्माणको काम सकिने भएकाले सिसाखोला हुँदै भित्ताखर्क–खोरिया सडक सल्लेरी जोडिने वैकल्पिकमार्ग बन्ने बताउनुभयो । केरुङ, गोराखानी र टाप्टिङको विकासमा नगरपालिकाले प्राथमिकता दिएकाले हल्लाको पछि नलाग्न आग्रह गर्दै मेयर शेर्पाले ग्रामिण विद्युतीकरण एक बर्षभित्र सकिने गरी काम भइरहेकाले उज्ज्यालो गाउँघरको सपना पनि छिट्टै पुरा हुने स्पष्ट पार्नुभयो ।
आगामी आर्थिक बर्षको बजेट र कार्यक्रमको विषयमा बोल्दै मेयर शेर्पाले कोरोना कहरले निम्त्याउने संभावित खाद्य संकटको सामना गर्नका लागि पनि कृषि उत्पादनमा बढी जोड दिइने बताउनुभयो । कोरोना कहरबाट प्रभावित केरुङका नागरिकलाई आफ्नो र नेपाली कांग्रेसका सहयोगी साथीहरुको समन्वयमा छिट्टै राहत वितरण गर्ने योजना समेत रहेको उहाँको भनाइ छ ।
पुल शिलान्यास कार्यक्रममा वडा नं. ८ का अध्यक्ष पासाङ कटवालले गुणस्तरीय र समयमै निर्माण काम सक्ने गरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । त्यस्तै, वडा नं. ९ का अध्यक्ष काजी शेर्पाले पुल निर्माण भएपछि गोराखानीसम्म बाह्रै महिना यातायात सञ्चालनको वातावरण बन्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष छोङवालामा शेर्पा, वडा सदस्य उत्रमान राई, वडा नं. ८ का वडा सदस्य दुर्गा मगर, वडा नं ९ का वडा सदस्य ङिमा तामाङ, नेपाली कांग्रेसका स्थानीय नेता कुलध्वज मगर लगायतको उपस्थिती रहेको थियो । पुल निर्माणले स्थानीय हर्षित भएका छन् ।