यसरी पारित भयो संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत

नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा सर्वसहमतिले पारित भएको हो । सोअघि विधेयकमाथि दफाबार छलफल भएको थियो ।

प्रतिनिधिसभामा कुल सदस्य संख्या २७५ मध्ये शनिबार २५८ जनाको उपस्थिति थियो । उपस्थित सबै सदस्यले पक्षमा मतदान गर्नुभयो । विधेयकको विपक्षमा शुन्य मत परेको सभामुख अग्नीप्रसाद सापकोटाले बताउनुभयो । मत विभाजन गर्दा उपस्थित सबै सदस्यले पक्षमा मतदान गरेकोभन्दै सभामुख सापकोटाले विधेयक दुई तिहाईभन्दा बढीले पारित भएको घोषणा गर्नुभयो । बैठकमा १७ जना सांसद अनुपस्थित रहनुभयो ।

संशोधन प्रस्ताव पारित भएसँगै नेपाली भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग नेपाली नक्सामा समेटिएको छ । संसदबाट विधेयक पारित भएपछि नयाँ नक्साले संवैधानिक मान्यता प्राप्त गरेको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १३७ को उपनियम (९) मा संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाई सदस्यको बहमुतबाट स्वीकृत भएमा विधयेक पारित भएको मानिनेछ व्यवस्था छ ।

त्यस्तै, उपनियम (१०) मा संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ व्यवस्था छ ।

छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा हिजो निरङ्कुश पञ्चायती तानाशाहीको प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौँ, भूमि राजतन्त्रले गुमायो, गर्वका साथ गणतन्त्रले लिँदैछ, ऐतिहासिक गौरव यो सदनलाई प्राप्त हुँदैछ ।”

अध्यक्ष दाहालले हरेक राष्ट्रिय विषयमाम आम नेपाली, राजनीतिक दल तथा नागरिक समाज एक रहेको विगतको उदाहरण प्रस्तुत गर्दै राष्ट्रियतामा नेपालीहरू कोही पनि विचलित नहुने स्पष्ट गर्नुभयो । उहाँले संविधान संशोधनको यस चरणमा आइपुग्दा सबै दल, जनता, नागरिक समाज र आम समुदायसँग ऐक्यबद्धता पनि प्रकट गर्नुभयो ।
नेपालको राजनीतिकलगायत ऐतिहासिक परिवर्तनका सन्दर्भमा सामन्ती र निरङ्कुशतन्त्र तथा त्यसबाट बनाइएको राजनीतिक, सामाजिक, सांस्कृतिक विसङ्गतिविरुद्ध लडेर लोकतन्त्र संस्थागत गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गरी सबै खाले वैदेशिक दबावबाट मुक्त पार्ने दायित्व मुलुकसामू रहेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले अहिले गर्न लागिएको निर्णय भौगोलिक अखण्डतालाई सुदृढ गर्ने महान् अभियानको महत्वपूर्ण कडी हो भन्नुभयो ।

उहाँले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाको विषय कुनै पार्टी वा नेता विशेषको मात्रै नभई सदनमा भएका सबै दल र जनताको विषय भएको बताउनुभयाे । “यो विषय कसैले जस या अपजस लिने भन्दा पनि ऐतिहासिक अभियानलाई सफल पार्ने विषय हो, लामो समयदेखि नेपाली जनताले शुरु गर्दै आएको सङ्घर्षको केन्द्रीकरणका रुपमा अहिले यहाँ आइपुग्याैँ, हामी देशको गुमेको भूभाग फिर्ता लिने नयाँ चरणमा आइपुगेका छौँ”, अध्यक्ष दाहालले थप्नुभयो ।

संवेदनशील विषयमा सर्वदलीय बैठकमार्फत सहमति बनाउँदै हाम्रो नक्सा सच्याउने र संविधान संशोधन गर्न पहलकदमी गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिँदै अध्यक्ष दाहालले साथ दिने सबै दल, नागरिक समाज र आम नेपाली जनताप्रति आभार प्रकटका साथ बधाई ज्ञापन गर्नुभयो । लक्की चौधरी /गोरखापत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार