सोताङ कांग्रेसले भन्यो -राहत वितरणमा भ्रष्टाचार र अनियमितता भयो

सोलुखुम्बु /नेपाली कांग्रेस सोताङले सोताङ गाउँपालिकाले राहत वितरणमा चरम भ्रष्टाचार र अनियमितता भएको आरोप लगाएको छ। मुलुक कोरोना कहरबाट समस्या भोगिरहेका बेला बन्दाबन्दीको समय तीन महिना बित्न लाग्दा राजधानी काठमाडौंमा बस्ने सोताङबासीलाई राहत वितरण गर्ने बहानामा पार्टीका कार्यकर्ता र आफ्ना नजिकका व्यक्तिलाई राहत वितरण गरेर राज्य कोषको दुरूपयोग गरेको कांग्रेसको आरोप छ।
सोताङ गाउँपालिका कार्य समितिका सचिव बलकुविर नाछिरिङ र सह सचिव सुर्य बहादुर कार्कीले विज्ञप्ती जारी गर्दै स्थानीय सरकारले गरेको एकलौटी नेतृत्व शैली माथी प्रश्न उठाएका हुन् ।
कोरोना कहर र विकास निर्माणको काममा सहकार्य गर्ने प्रतिवद्धता जनाएको कांग्रेसलाई वेवास्ता गरी स्थानीय सरकारका नेतृत्वले राजनीतिक तवरले निषेधको व्यवहार गरेको भन्दै कांग्रेस सोताङले विज्ञप्ती मार्फत विरोध जनाएको हो ।
विज्ञप्ती मार्फत कांग्रेस सोताङले काठमाण्डौमा रहेका सोताङबासीलाई वितरण गरेको राहतमा राजनीतिक आस्थाको रुपमा विभेद गरिएको र राज्य कोषबाट खर्च गरिएको राहत वितरण कार्यमा पार्टीका कार्यकर्ता परिचालन गर्नु गलत भएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘काठमाण्डौमा रहेका आफ्ना नागरिकलाई विलम्ब गरी राहत वितरण भएपनि सरकारको कोषबाट खर्च गरिएको राहतमा आस्थाको आधारमा पार्टीको कार्यकर्ता परिचालन गरिनुका साथै वितरण कार्यमा समेत पक्षपातपुर्ण व्यवहार गरिनुले सरकार आम नागरिकको हो वा एउटा पार्टीको हो सहजै छुट्याउन सकिन्छ ।’
स्थानीय, प्रदेश र संघ सरकारका योजना कार्यान्वयनमा राजनीतिक आस्थाको भरमा लुकिछिपी उपभोक्ता समिति गठन र कार्यान्वयनको शैली देखिएको, प्राविधिक इस्टमेट अनुसार काम नभएको, सार्वजनिक सुनुवाइ नगरिएको, विकास निर्माणको काम भष्ट्राचारको अखडा बनेको भन्दै विज्ञप्तीमार्फत कांग्रेस सोताङले आपत्ति जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार