सरकारलाई कांग्रेस सोलुको ध्यानाकर्षण (विज्ञप्तिको पूर्ण पाठ सहित)


सोलुखुम्बु/नेपाली कांग्रेस सोलुखुम्बुले १० बुँदे माग सहित सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

केन्द्रको सर्कुलर अनुसार कांग्रेसले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै कांग्रेसले ७७ वटै जिल्लाबाट दबाब स्वरुप सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत सोलुखुम्बुमा पनि कार्यक्रमको आयोजना गरिएको हो ।

कांग्रेस जिल्ला सभापति विनोद बस्नेतले कोरोनाका कारण प्रताडीत पर्यटन क्षेत्रका व्यवसायी र मजदुर लक्षित राहत कार्यक्रम घोषणा गर्न, साना व्यवसायी र कृषि क्षेत्रमा परेको असर व्यवस्थापनका लागि उचित प्याकेज घोषणा, कृतिम मुल्यबृद्धि र कालोबजारी नियन्त्रण, स्थानीय तहले वितरण गरेको राहत र उद्धारमा भएका खर्च सार्वजनिक, कृषकहरुलाई विउविजन र मलको व्यवस्था, विदेशमा ज्यान गुमाएका शव नेपाल ल्याउने व्यवस्था र चुस्त शान्ति सुरक्षाको व्यवस्थापन लगायतका माग समावेश ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी रमा आचार्यलाई प्रदान गर्नु भयो । प्रमुख जिल्ला अधिकारी आचार्यले ध्यानाकर्षणपत्र सरकारलाई पठाउने बताउनुभयो ।

ध्यानाकर्षण बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका कांग्रेसका नेता तथा कार्यकर्ताले सरकार विरुद्ध नारा लगाएका थिए । उनीहरुले ‘क्वारेन्टीन हो की बाख्राको खोर, सरकार भित्र चोरैचोर’, ‘कम्प्यूनिष्ट सरकारको उपहार, मरेपछि पिसिआर’, ‘जनताको भोको पेट, राष्ट्रपतिलाई कार्पेट’ लगायतका दर्जनौ नारा लगाएका थिए ।

कस्ले के भने ?

सरकारलाई ध्यानाकर्षण बुझाउने कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्तासहित निर्वाचित जनप्रतिनिधिहरु पनि सहभागी थिए । प्रमुख जिल्ला अधिकारी रमा आचार्यलाई पत्र बुझाएपछि आ–आफ्नो भनाइ राख्ने क्रममा जिल्ला प्रशासन कार्यालयको कार्यशैली माथी प्रश्न उठाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले सत्ता पक्षका लागि मात्र काम गरेको आरोप लगाए । उनले भने, ‘कम्प्यूनिष्ट सरकारको पक्षपोषण गर्ने काम भएको छ । सोलुदूधकुण्ड नगरपालिकाको हातपातको घटनामा प्रहरी प्रशासन एकलौटी अघि बढेको र लिखुपिकेको घटनामा झुटो आरोपको आधारमा कांग्रेस निकट व्यक्तिहरुलाई पक्राउ गर्ने काम भएको छ ।’ यर्थाथ बुझेर समान व्यवहार गर्न कांग्रेस नेता केसीले आग्रह गर्नुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले प्रशासन कार्यालयले समान भूमिका निर्वाह गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो अध्यक्षतामा भएको वैठकमा घटेको घटनाको बारेमा एक शब्द नसोधि एकतर्फी मुद्धा दर्ता र घटना मुचुल्का गरिएको छ । यस्मा मेरो गुनासो छ । प्रहरी प्रशासनको एकलौटीले भोली अर्को दुर्घटनाको संकेत नगरोस् ।’ मेयर शेर्पाले प्रशासन सबैको साझा बन्न सक्नुपर्नेमा जोड दिनुभयो।

प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बु समेतको उपस्थिती रहेको भेटमा कांग्रेस सभापति विनोद बस्नेतले लिखुपिके घटनामा समातिएकालाई विना सर्त रिहा नगरिए प्रहरीसँग मैदानमा भेट हुने चेतावनी दिएका । उहाँले भन्नुभयो, ‘योजनाका विषयमा छलफल गर्न बोलाएर झुटो आरोपमा हाम्रा नेताहरुलाई पक्राउ गर्ने काम भएको छ । लिखुपिके उपाध्यक्षको नेतृत्वको टोली हाम्रा नेताहरुमाथी कुटपिट भएको छ । त्यसको मुद्धा दर्ता गरेर अघि बढ्न सुझाउन चाहन्छु ।’ उहाँले कांग्रेसलाई कमजोर नठान्न आग्रह गर्नुभयो।

भेटमा नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष कुमारीदेवी शर्मा, कांग्रेस जिल्ला सचिब धनजन राई, कांग्रेसका नगर सभापति तथा वडा नं ४ का अध्यक्ष दावागेलु पाख्रिन लगायतले बोलेका थिए । उनीहरुले लकडाउनको मौकाछोपी कालोबजारी बढेको र स्थानीय तहमा मौलाएको भष्ट्राचार लगायतको विषयमा गुनासो राखेका थिए ।

नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समितिले केन्द्रीय समितिको कार्यक्रम अनुसार कोभिड १९ सम्बन्धित प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको पुर्ण पाठ

सम्माननीय प्रधानमन्त्रीज्यू
नेपाल सरकार, सिंहदरबार काठमाडौं ।
मार्फत्
श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु ।

विषय : ध्यानाकर्षण सहितको ज्ञापन पत्र ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित भई बन्दाबन्दीको ८५ औं दिनको सन्त्रासपूर्ण अबस्थामा नेपाल गुज्रिरहेको छ । यसको प्रत्यक्ष प्रभावमा हामी सोलुखुम्बुबासी पनि सन्त्रासयुक्त संघर्षपुर्ण जीवन निर्बाह गरिरहेका छौं । दुई जनामा कोरोना भाइरसको संक्रमण देखिने वित्तिकै लकडाउन गरिएको भएतापनि अहिलेसम्म नेपालमा ६२११ जनामा संक्रमण प्रमाणित भइसकेको छ भने १९ जनाले दुःखद् मृत्युवरण गरिसकेका छन् । संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै दुःखद् मृत्युवरण गर्नुहुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । मृत्युवरण गर्नेका परिवारजन प्रति समवेदना छ ।
नेपाली जनताको पार्टी नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली नागरिकको स्वास्थ्य अबस्था प्रति उच्च संवेदनशील भई मुलुकलाई जोगाउन शुरुवाती चरणदेखि नै नेपाल सरकारलाई सचेत गराउँदै आएको हो । कोभिड १९ विरुद्धको लडाइमा सरकारलाई सहयोग गर्ने आशयका साथ सरकारले स्थापना गरेको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष”मा शुरुमै नेपाली कांग्रेसले रु. ५० लाख नगद जम्मा गरेको सर्वविदितै छ । त्यसपछि पनि आजका मितिसम्म स्थानीय तह देखि संघीय तहसम्मका सरकारलाई नेपाली कांग्रेस पार्टीका तर्फबाट विभिन्न राय, सुझाब सहितका रचनात्मक सहयोग गर्दै आइरहेका छौं । तथापि सरकारले हाम्रो सहयोग र सुझाबलाई बेवास्ता गरेका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । विश्वका अन्य मुलुकमा लकडाउन पछि संक्रमितको संख्या क्रमशः घटिरहेको छ भने हाम्रो देशमा लकडाउन पछि नियन्त्रण हुनुको सट्टा ठूलो संख्यामा दिनानुदिन बढिरहेको छ । कोभिड १९ को नाममा राज्यकोषबाट करीब १० अर्ब रुपैयाँ सकिइसक्दा पनि पीसीआर परिक्षण अत्यन्तै न्यून रुपमा गरिएको छ । एकातर्फ लकडाउनको समयसीमा बढाइरहने अर्कोतर्फ परिक्षण अत्यन्तै न्यून गर्ने सरकारको कार्यशैलीकै कारण कोरोना नियन्त्रणमा कठिनाई भएको हो भन्ने हाम्रो बुझाइलाई सरकारले उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा गठन गरेको उच्च स्तरीय संयन्त्र अहिले आएर कोरोना संक्रमण बढीरहेकै अवस्थामा विघठन गर्नुबाट त्यस समितिको कार्यशैलिको औचित्यता स्वयंसिद्ध हुन्छ । स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा उच्च मूल्यमा गुणस्तरहिन सामाग्रीको राज्य नियन्त्रित संयन्त्रबाटै खरिद गर्नु सरकारको निकम्मापन देखाउने खुल्ला उदाहारणको रुपमा रहेको छ ।
अकर्मण्य र गैरजिम्मेवारपूर्ण सरकारी उपस्थितिले कोरोनाबाट मात्र नभई अन्य स्वास्थ्य सेवाको पहुँचबाट समेत नागरिकहरु टाढा हुनु परेको छ । लकडाउनकै अबस्थामा आत्महत्या गर्नेहरुको संख्या निकै ठूलो अंकमा पुगिसकेको छ । सुत्केरी महिलाहरु उपचार नपाएर मृत्युवरण गर्न बाध्य बनाइएका छन् । यस बीचमा बालमृत्युदर समेत निकै उच्च रहेको छ भने दीर्घरोगीहरुलाई औषधि सेवन गर्न समेत समस्या सिर्जना भएको छ । ठूलो संख्यामा रोजगारी गुमेको छ । घरेलु, कुटिर, साना, मझौला र ठूला उद्योग व्यबसाय, पर्यटन तथा होटल लगायतका व्यबसाय ठप्पप्रायः छन् । एकातिर रोगको जोखिम अर्कोतर्फ आर्थिक लगायतका विविध समस्याहरुले जनजीवन निकै कष्टपूर्ण छ । सरकारले सञ्चालन गरेका क्वारेन्टाइनमै बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु पनि घटिरहेका छन् । यसरी सरकारको पाइलैपिच्छे कमजोर र गैह्रजिम्मेवारपूर्ण उपस्थितिले नेपाली जनताहरुलाई झनै त्रसित अबस्थामा पु¥याएको छ । दुईतिहाइ बहुमत प्राप्त सरकारलाई प्रतिपक्षको प्रत्येक संकटमा जिम्मेवारीपूर्ण सहयोग हुँदाहँदै पनि के ? किन ?? कसले ??? कमजोर र गैह्रजिम्मेवार बनायो भन्ने प्रश्न र ध्यानाकर्षण सहित प्रमुख प्रतिपक्षी दल र गौरवपूर्ण इतिहास बोकेको नेपाली जनताको दुःखको साथी नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिको गत जेठ २६ गतेको बैठकको निर्णय अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्री समक्ष जेठ २८ गते प्रस्तुत गर्नुभएको ध्यानाकर्षण पत्रको पुर्ण समर्थन सहित सरकारले उक्त ध्यानाकर्षण पत्रको अक्षरस कार्यान्वयन गरोस् भनी नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समितिको तर्फबाट सोलुखुम्बु जिल्ला केन्द्रित थप निम्न सुझाब सहितको ज्ञापन पत्र श्रीमान प्रमुख जिल्ला अधिकारी मार्फत् सम्माननीय प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका छौं ।
१. सोलुखुम्बु जिल्ला पर्यटकीय जिल्ला भएकाले यहाँका बासिन्दाको मुख्य पेशा व्यवसाय पर्यटनसँग सम्बन्धित छ । कोरोना भाइरसले पर्यटन र यससँग सम्बन्धित व्यवसायी तथा मजदुरहरुमा निकै मार परेको छ । नेपाल सरकारबाट तत्कालै पर्यटन राहात कार्यक्रमको घोषणा गरियोस् ।
२. लामो बन्दाबन्दीले साना ब्यवसायी र कृषि क्षेत्रमा समेत नराम्रो असर परेको छ । यसको उचित व्यबस्थापन र आर्थिक प्याकेज सहितको उपयु्क्त सम्बोधन सहित लकडाउनको बहानामा निर्माण सामाग्री, खाद्य तथा कृषि सामाग्रीहरुमा कृतिम अभाव सिर्जना गरी मूल्यबृद्धि तथा कालोबजारी भइरहेको जनस्तरमा महशुस भएको छ त्यसको तत्कालै नियन्त्रण गरियोस् ।
३. कोरोना संक्रमणका कारण गरिएको बन्दाबन्दीको आडमा स्थानीय तहहरुमा व्यापक अनियमितता र भ्रष्ट्राचार भइरहेको छ । त्यसको स्वतन्त्र छानविन सहित राहात तथा उद्धारका नाममा स्थानीय तहहरु र अन्य सरकारी संयन्त्रबाट सोलुखुम्बु जिल्लामा गरिएका खर्च पारदर्शी रुपमा तुरुन्त सार्वजनिक गरियोस् ।
४. अहिले ब्यवस्था गरिएका क्वारेन्टाइनहरु मापदण्ड पुरा गरी सञ्चालनमा ल्याउनुका साथै सोलुखुम्बु जिल्लामा सरुवा रोग नियन्त्रणका लागि तुरुन्तै छुट्टै अस्पतालको निर्माण गरी पीसीआर प्रविधिबाट कोरोना भाइरस परिक्षण गर्ने ल्याबको ब्यबस्था गरियोस् ।
५. कोरोना भाइरसका विरुद्ध जसरी सर्वपक्षीय समन्वयमा कार्य सञ्चालन गरिनु पर्दथ्यो, त्यो भइरहेको छैन, सम्बन्धित निकायहरुबाट सर्वपक्षीय सहभागिता, समन्वय र सहकार्यको थालनी तुरुन्तै गरियोस् ।
६. लकडाउनको बहानामा विकास आयोजनाहरुको सञ्चालनमा ढिलासुस्ती र अनियमितता भइरहेकोले त्यसको सर्वपक्षीय समन्वयमा तुरुन्तै निरुपण गरियोस् ।
७. स्वास्थ्यकर्मी, सु्रक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र अग्रपंक्तिमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको आवश्यक स्वास्थ्य सुरक्षाको समुचित प्रबन्ध तुरुन्तै गरियोस् ।
८. कृषि क्षेत्रमा बिउबिजन, मल र दक्ष कृषि प्राविधिकको ब्यवस्था तुरुन्तै गरी बीउबिजन र मलमा विशेष अनुदानको ब्यवस्था गरियोस् ।
९. विदेशमा बिचल्ली परी घर आउन चाहानेहरुलाई विना भेदभाब घर फर्कने ब्यवस्था गर्नुका साथसाथै विविध कारणले विदेशमा जीवन गुमाएकाहरुको शव ल्याउने ब्यवस्था तुरुन्तै गरियोस् ।
१०. बन्दाबन्दीको यस्तो परिस्थितिमा पनि जिल्लाका हरेक क्षेत्रमा शान्ति सुरक्षाको स्थिति झन खस्किरहेकोले जिल्लाको शान्ति सुरक्षाको स्थिति मजबुत पार्नु अत्यावश्यक छ । कानून सबैको साझा हो तसर्थ कानुनको कार्यान्वयन समान रुपमा गरियोस् ।
जय नेपाल !
……………………
विनोद कुमार बस्नेत

सभापति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार