लद्दाखमा भारत र चीनको सेनाबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिए, चीनतर्फको क्षति खुलेन

एजेन्सी । भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन् । पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी यस्तो भिडन्त भएको हो ।

सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक कमाण्डरसहित २० जना मारिएको भारतीय सेनाले जानकारी दिएको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भएको भिडन्तमा चीनतर्फ कति क्षति भयो भन्ने चीनले केही खुलाएको छैन । भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो । चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा अनधिकृत प्रवेश गर्दा भिडन्त भएको जनाएको छ ।

भारतीय सेनाले मंगलबार अबेर राति वक्तव्य जारी गरेर भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । जुन १५–१६ को राति (सोमबार राति) सो स्थानमा दुई देशका सैनिकबीच भिडन्त भएको थियो । भिडन्तको क्रममा १७ भारतीय सैनिक गम्भीर घाइते भएका छन् । शून्य डिग्री भन्दा तलको तापक्रम र अति अग्लो सो स्थानमा गम्भीर घाइते भएका ती १७ सैनिकको मृत्यु भयो । सो स्थानमा कुल २० भारतीय सैनिकको निधन भएको हो । भारतीय सेना देशको अखण्डता र सम्प्रभूता रक्षाका लागि प्रतिवद्ध छ ।’

यसअघि भारतीय सेनाले सो भिडन्तमा आफ्ना एक सैन्य अधिकारी र दुई जवान मारिएको जनाएको थियो । समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबीच वार्ता भएको पनि बताएको थियो ।

लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भिडन्त भएपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार सैन्य प्रमुखहरुसँग समीक्षा बैठक गरेका छन् । बैठकमा विदेश मन्त्री एस जयशंकर पनि संलग्न थिए ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पिपुल्स लिबरेशन आर्मी का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चाङ्ग शुइलीले भारतलाई आफ्ना सैनिकलाई रोकोस् र वार्ता मार्फत समस्या समाधानको मार्गमा आओस् भन्ने उल्लेख गरेका छन् । भारतीय सैनिकले आफ्नो वचन उल्लंघन गरेको उनको आरोप छ ।

भारतीय सैनिकले एलएसी पार गरेर चिनियाँ सैनिकलाई उक्साएको र पहिले आक्रमण थालेको उनले दाबी गरेका छन् । उनले भारतले आफ्ना सैनिकलाई रोक्न र वार्ता मार्फत समस्याको समाधान खोज्न भनेका छन् ।

भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबीच तनाव हुँदै आएको छ । कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो ।

यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिक मारिएका थिए । यस्तै दुई पक्षबीच सन् १९६७ मा भिडन्त भएको थियो । १९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पेट्रोलिङ्गमा रहेको भारतीय फौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथुला क्षेत्रमा दुई देशका सेनाबीच भिडन्त भएको थियो । From imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार