सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले नयाँ कार्यक्रम अघि सारेको छ । शुक्रबार सल्लेरीमा गरिएको पत्रकार सम्मेलनमा नागरिक सहायताका लागि स्थानीय सरकारको सहकार्यमा गरिने ‘कोरोना पीडित तथा बेरोजगार राहत कोष’ स्थापनाको अवधारणा सार्वजनिक गरेको छ ।
उक्त कोष स्थापनाका लागि कांग्रेस सोलुखुम्बुले आठ स्थानीय तहमा चार लाख परिचालन गर्ने पुर्व पार्टी सभापति आङगेलु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक स्थानीय सरकारमा कोष स्थापनामा कांग्रेसले ५० हजार विउ पूँजी प्रदान गर्ने छ । स्थानीय सरकारसँग सहकार्य गरेर कोष बृद्धिका लागि खुला आव्हान गर्ने तयारी गरेका छाँै ।’
हरेक स्थानीयतहमा कम्तीमा ५० लाखको कोष स्थापना गरेर कोरोना पीडित र बेरोजगार समस्या समाधानमा काम गर्ने गरी कांग्रेसले अवधारणा ल्याएको नेता शेर्पाले बताउनुभयो । ‘स्थानीय सरकार प्रमुखसँग छलफल गरेर सरकार प्रमुखकै मातहतबाट कार्यान्वयन हुने गरी अवधारणा ल्याएका हौँ । हामीलाई लाग्छ की, सरकार प्रमुखहरुले पनि सकारात्मक रुपमा लिनु हुनेछ ।’ नेता शेर्पाले विश्वास व्यक्त गर्नुभयो ।
कोष स्थापनाको छलफल र नगद हस्तान्तरणसंगै कोष स्थापनाको काम नेचासल्यान गाउँपालिकाबाट गरिने छ । क्रमशः अन्य स्थानीय तहमा एक साताभित्र पुग्ने कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा, कांग्रेसका प्रदेश सभा ‘क’ सभापति सुर्य कुलुङ, प्रदेश सभा ‘ख’ सभापति कर्मा शेर्पा, नगरकार्यपालिका सदस्य सोनामग्याल्जेन शेर्पा, सोताङ कांग्रेस सभापति गणेश बस्नेतलगायतका जनप्रतिनिध तथा कांग्रेस नेताहरुको उपस्थिती रहेको थियो ।
स्थानीय सरकारलाई कांग्रेसको सुझाव
जारी विज्ञप्तीमा कांग्रेसले तत्कालीन, अल्पकालीन र दिर्घकालीन योजनाहरु पनि सुझावको रुपमा उल्लेख गरिएको छ । तत्कालीन रुपमा हरेक स्थानीय तहमा अपुरो रहेका योजना कार्यान्वयनका लागि बेरोजगार र विपन्न नागरिकलाई क्षमता एवम् दक्षताको आधारमा काम दिने र उनीहरुलाई सुरक्षित साथ कार्यस्थलमै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारलाई सुझाव दिएको छ ।
कांग्रेसले कोरोना कहरका कारण वैदेशिक रोजगारीमा रहेका सोलुखुम्बुका करिब एक हजार गाउँ फर्कने संभावना देखिएकाले हरेक गाउँपालिकामा एक सय क्षमताको क्वारिन्टीन, हस्पिटल तथा स्वास्थ्य संस्थामा २० वेडको भेन्टिलेटर सहितको आइशोलेसन वार्ड निर्माण गर्न तत्कालीन सुझाव दिएको छ ।
कांग्रेसको अल्पकालीन योजनामा कोरोनाका कारणले रोजगार गुमाएका बेरोजगार तथा अति विपन्न परिवारलाई कृषि तथा पशुपालनमा संलग्न हुने गरी विउविजन, बाख्रा तथा बङ्गुरका पाठापाठी, कुखुराका चल्ला वितरण गरी राहतका कार्यक्रम अघि बढाउने विषय समाबेश गरिएको छ ।
कांग्रेसले कोरोना कहर थपिँदै जाने संभावना बढेकाले स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेशनका लागि नयाँ भवन निर्माण गर्न र दिर्घकालीन रुपमा कृषि तथा पशुपालन उत्पादनका लागि आवश्यक तालिम र प्रविधिको व्यवस्थापन गरी नगदे बालीमा प्रोत्साहन गर्ने योजना ल्याउन स्थानीय सरकारलाई दिर्घकालीन सुझाव दिएको छ ।