ओली नेकपाभित्र घेराबन्दीमा, एमसीसीलाई अस्त्र बनाएर हटाउने सम्मको तयारी

नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटनाको खतरा बढेर गएको छ । यसपटक एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ । यसैलाई अस्त्र बनाएर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मको तयारी भइसकेको छ । ओली पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको उनकै निकटस्थहरुले बताउन थालिसकेका छन् । यसलाई तोड्ने हुनु या होइनन् अबको १० दिनभित्र प्रष्ट हुनेछ ।

ओलीका सामु एमसीसीबाट पछि हट्ने या सत्ता छाड्नुपर्ने वाध्यात्मक परिस्थिति निर्माण गरिदैछ । यसको संकेत उपाध्यक्ष बामदेव गौतमले गरिसकेका छन् । गौतम नेकपाभित्रका सुरथका एक्का रहँदै आएका छन् । उनको पछिल्लो भनाईले कुनै गम्भीर घटनाको संकेत गरिसकेको छ ।

गौतमकै साथले ओली तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्न सफल भएका थिए । उनकै साथले अप्ठ्यारोमा परेका ओली दुई विवादास्पद विधयेक ल्याउँदा सत्ता टिकाउन सकेका थिए । यसपटक भने साथ नदिने स्पष्ट धारणा आइसकेको छ ।

गौतमले हिजो आफ्नो सचिवालयमार्फत् आफ्नो प्रधामन्त्री ओलीसँग विमति रहेकाले सरकारमा नजाने स्पष्ट पारिसकेका छन् । उनले पार्टीको औपचारिक निर्णय बमोजिम सरकार चल्नुपर्नेमा जोड दिदै त्यसो नभए कडा निर्णय आउनेसम्मको संकेत गरेका छन् । उनको आशय एमसीसीबारे नै थियो ।

प्रधानमन्त्री ओली एमसीसी संसदीय दलमार्फत् पारित गराउने गरी निर्णय गराउन चाहिरहेका छन् । तर, पार्टी निर्णय बमोजिम हुनुपर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको छ । सचिवालय सदस्य रामबहादुर थापा बादल पनि एमसीसीको विपक्षमा छन् । पक्षमा ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल देखिएका छन् । यसरी सचिवालयमा ६ र ३ को अवस्था बनेको छ ।

भोलि सचिवालय डाकिएको छ । १० असारमा स्थायी समिति बैठक डाकिएको छ । बैठक टार्न सक्ने सम्भावनालाई दृष्टिगत गरी ओली अनुपस्थित भएपनि गर्ने तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुई तिहाई कोरम पुर्याएर भएपनि एमसीसीबारे निर्णय लिने ओलीइतरको रणनीति छ । त्यस अवस्थामा वार पार हुनसक्छ । ओलीले एमसीसी संसदबाट पारित गराएर जान खोजे पार्टी निर्णय विपरित हुनसक्ने र संसदमै नेकपाका सांसदहरुको पक्ष विपक्षमा मत पर्न सक्छ ।

ओलीले एमसीसीको बचाऊ हिजो पनि संसदमा गरे । उनले महाकाली सन्धीको बेलामा पनि विगतमा त्यतिकै उफ्रिएको भन्दै व्यङ्ग्य गरे । एमसीसी नपढी बोलेको समेत भनेर बचाऊ गरे । यसरी ओली पछाडि हट्ने सम्भावना कमजोर भइरहेको छ । अब वार पार एमसीसीबाटै हुने आँकलनका साथ नेकपाभित्रका उनको विरोधमा देखिएको समुह रणनीतिका साथ तयार भएको छ ।

प्रचण्ड, खनाल, माधव र गौतम बसेर रणनीति तयार गरिसकेको बुझिएको छ । यसपटक एमसीसीको मामलामा कोही यताउता नहुने समझदारी समेत बनेको विश्वस्त स्रोतले जनाएको छ । विगतमा बामदेवलाई प्रधानमन्त्री बनाउने अस्त्रले परिस्थिति फरक पर्न गएकाले हिजो उनको सचिवालयमार्फत् बोल्ने अवस्था बनाइएको थियो । गौतम बोलेपछि अब उनी ओलीको पक्षमा छैनन् भन्ने स्पष्ट भएको छ ।

एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी भएको छ । त्यसका लागि पाँचजना सचिवालय सदस्यको भित्री तयारी रहेको बुझिएको छ । बादल सरकारमा रहेकाले यताउता हुनसक्ने सम्भावना छँदैछ । बरु विष्णु पौडेल गुट परिवर्तन गर्नसक्ने अवस्था बन्न सक्छ । ओली र पोखरेल भने एकसाथ छन् ।

१५ असारभित्र एमसीसी संसदबाट पारित गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा उभिइसकेको छ । नेकमभित्र यसबारे मतभेद गहिरो छ । यसैलाई अस्त्र बनाएर ओली सरकार ढाल्न खोजेको कतिपयको बुझाई रहेको छ । हुनपनि अहिले यही विषयलाई लिएर ओली सरकारमाथि एकसाथ प्रहार गर्न नेकपाका हेभिवेटहरु लागेका छन् । यसको सामना गर्न भने ओलीलाई हम्मे पर्न सक्छ । Source:reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार