कांग्रेस सोलुखुम्बुले गर्यो ‘कोरोना पीडित तथा बेरोजगार राहत कोष’ स्थापना

नेपाली कांग्रेस सोलुखुम्बुले अघि सारेको ‘कोरोना पीडित तथा बेरोजगार राहत कोष’ स्थापनाको कार्यक्रम सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट शुरु गरिएको छ।

प्रत्येक गाउँपालिकामा कोरोना पीडित र बेरोजगार नागरिकको सहजताका लागि कोष स्थापना गर्न विऊ पुँजी स्वरुप गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई ५० हजार रुपियाँ नगद हस्तान्तरण गर्दै कांग्रेस पुर्व जिल्ला सभापति आङगेलु शेर्पाले कोष स्थापनाको शुरुवात गर्नुभएको हो।

यस कार्यक्रमले स्थानीय सरकारले रोजगारी गुमाएका र अति विपन्न परिवारलाई उत्पादनमूलक काममा सहयोग गर्न सहज हुने नेता शेर्पाले विश्वास व्यक्त गर्नुभयो। आगामी आर्थिक वर्षको बजेट र बाह्य सहयोगबाट रकम कोषमा जम्मा गर्न सबै लाग्नुपर्ने उहाँको भनाइ छ।

रकम ग्रहण गर्दै अध्यक्ष बाँस्तोलाले विपदमा गरिएको सहयोग महत्वपूर्ण हुने भन्दै रोजगार कोष स्थापना गरी रोजगार सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्मा, जिल्ला समन्वय समिति सदस्य रामकाजी राई, कांग्रेस सोलुखुम्बु प्रदेश क का सभापति सुर्य बहादुर कुलुङ, ख का सभापति कर्मा शेर्पा, सोलुदूधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पा, कांग्रेस नेता गणेश बस्नेत, कांग्रेस नेचासल्यान गाउँपालिका सभापति नीरकुमार शर्मा, प्रमुख प्रशासकीय अधिकृत शालिक राम बस्याल लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रम अनुसार कांग्रेसले ८ वटै स्थानीय तहमा ५० हजार रुपियाँ विऊ पुँजी प्रदान गरी स्थानीय सरकारको मातहतमा कोष स्थापना गर्ने र थप सहयोगको लागि खुला आव्हान गर्ने भएको छ। हरेक स्थानीय तहमा कम्तीमा ५० लाख रुपियाँको कोष स्थापना गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार