कांग्रेस सोलुद्वारा केरुङका ३९२ परिवारलाई राहत वितरण

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका ३९२ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

पुर्व पार्टी सभापति आङगेलु शेर्पा, मेयर जाम्गेलजाङबु शेर्पा लगायतका कांग्रेसका नेताहरुको उपस्थितीमा शनिबार केरुङ स्थित आङपाङ, मेराङ्दिङ, घुन्सा, जोरसल्ले, कात्तिके, फुराबारीका ३९२ परिवारलाई एक–एक बोरा चामल वितरण गरिएको स्थानीय चेत मगरले जानकारी दिनुभयो ।
वितरण कार्यक्रममा बोल्दै कांग्रेस सोलुखुम्बुका पुर्व सभापति आङगेलु शेर्पाले कारोना कहरका कारण समस्यामा परेका नागरिकलाई कांग्रेसले सहयोग अभियान चलाएको बताउँदै विपदमा नागरिकको साथी बन्न पाएकामो खुसी व्यक्त गर्नुभयो ।

मेयर नाम्गेल जाङबु शेर्पाले कांग्रेसका समाजसेवी व्यक्तिहरुको सहयोगमा नगरपालिका क्षेत्रका नागरिकलाई विना विभेद राहत वितरणको काम गरेको बताउनुभयो । गतबर्ष केरुङस्थित बालेश्वर माविमा व्यक्तिगत रुपमा १० थान ल्यापटप प्रदान गर्नुभएका मेयर शेर्पाले यो पटक ७३ लाख रुपियाँमा चार कोठे भवन निर्माण र शौचालय निर्माणको लागि विद्यालय छनौट भएको जानकारी दिनुभयो । गोराखानी, केरुङ र टाप्टिङ क्षेत्रमा समान रुपमा विकासका काम भइरहेकाले ग्रामिण विद्युतीकरणलाई द्रुत गतिमा अघि बढाउन, सडक र अन्य पुर्वाधारको विकासमा प्रतिबद्ध रहेको र सोहीअनुसार काम भइरहेको मेयर शेर्पाको भनाइ छ ।

गाउँ इकाई सभापति पदमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा ‘क’ सभापति सुर्य कुलुङ, महासमिति सदस्य कुसाङ शेर्पा, नगर कार्यपालिका सदस्य सोनामग्याल्जेन शेर्पा, सोताङ कांग्रेस सभापति गणेश बस्नेत, स्थानीय नेता कुलध्वज मगर, बालकुमार कार्की लगायतका नेताहरुको साथमा समाजसेवी आङ फुरी शेर्पा र आङछिरी शेर्पाको उपस्थिती रहेको थियो ।

यसअघि शुक्रबार मेयर शेर्पाले नेपालीकांग्रेसको तर्फबाट शुक्रबार केरुङ, टाप्टिङ र गोराखानीका २०९ परिवारलाई खाद्यान्न वितरण गर्नुभएको थियो । बम्जन एण्ड डोल्मा सोसियल सर्भिस फाउण्डेसनका अध्यक्ष लक्ष्मण तामाङको पहलमा सो क्षेत्रका हरेक परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरिएको स्थानीय कृष्णबहादुर मगरले जानकारी दिनुभयो ।

शुक्रबार नै गोराखानी अध्यक्ष काजी शेर्पाले बम्जन एण्ड डोल्मा सोसियल सर्भिस फाउण्डेसनका अध्यक्ष लक्ष्मण तामाङले उपलब्ध गराएको स्वास्थ्य सामाग्री गोराखानी स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको छ । मेयर शेर्पाको निजी लगानीमा शैक्षिक सुधारको लागि गोराखानी आविलाई चार थान ल्यापटप हस्तान्तरण समेत गरिएको वडा अध्यक्ष काजी शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार