लाखौंको रोजगारी गुम्यो, पर्यटन र शिक्षाक्षेत्र चौपट

देशमा लाखौंको रोजगारी गुमेको छ । विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब पाएका छैनन् । कतिपयको रोजगारी गुमेको छ ।

पर्यटन व्यवसाय फागुनयता चौपट छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौंको रोजगारी गुमेको छ । सगरमाथा आरोहण यसवर्ष नहुँदा त्यस क्षेत्रको पर्यटनमा निर्भरहरु समस्यामा परेका छन् ।

पर्यटन क्षेत्रसँग जोडिएको यौन व्यापार गर्नेहरु मारमा परेका छन् । नेपालमा यौन व्यापारले वैधता नपाएपछि अघोषित रुपमा सञ्चालनमा छ । यस क्षेत्रमा लाखौं मानिस निर्भर रहेको तथ्यांकहरुले देखाउँछ । यौन व्यापार गर्नेहरु सबैभन्दा बढी समस्यामा परेका छन् । यसले समाजमा नयाँ समस्या ल्याउने खतरा बढाएको छ ।

निजी विद्यालय र कलेजहरु चैत्र यता बन्द छन् । विद्यार्थीबाट शुल्क लिन पाएका छैनन् । विशेषगरी निम्न मध्यमस्तरका मानिसहरु अध्ययन गर्ने विद्यालय संकटमा परेका छन् । उनीहरुले तलब दिन सकेका छैनन् । शिक्षकहरु तीन महिनायता तलब नपाएर भोकै पर्नुपर्ने अवस्थामा पुगेका छन् । कतिपयको रोजगारी गुमेको छ ।

देशमा वैदेशिक रोजगारीमा जाने लाखौं मानिसहरु फर्किइरहेका छन् । यसले थप बेरोजगार बढाउने देखिएको छ । कोरोना कहरभन्दा पनि बेरोजगारी र भोकमरीले भयावह अवस्था आउने देखिदैछ ।-reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार