अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशन अन्योलमा परेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी ७ देखि १० फागुनसम्म काठमाडौंमा हुने तय भएको कांग्रेस महाधिवेशन कोरोना संक्रमणका कारण अन्योलमा परेको हो । यो अन्योलसँगै पूर्वनिर्धारित महाधिवेशन सर्ने संकेत देखिन थालेको छ ।

कांग्रेसले महाधिवेशनका लागि सार्वजनिक गरेका यसबीचका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रियासमेत संक्रमणकै कारण प्रभावित भएको छ । कांग्रेसले गत ९ चैतबाट नै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो । उसले आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्धको सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो ।

तर, पछिल्लो समय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तोकिएकै समयमा महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । पौडेलले गत बुधबार र आइतबार देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा महाधिवेशनबारे आफ्नो धारणा राख्दै तोकिएकै समयमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका परिमार्जन गरी छोट्याउन आग्रह गरेका हुन् ।

वरिष्ठ नेता पौडेलले आफूले तोकिएकै समयमा नै महाधिवेशन गर्ने गरी बाँकी काम द्रुतगतिमा अघि बढाउने गरी तयारी गर्न सभापति देउवालाई आग्रह गरेको बताए । ‘अब समय धेरै छैन । तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सच्याऔं भनेर मैले सभापतीजीलाई भनेको छु । सभापतिले केन्द्रीय समितिबाट कार्यतालिकामा केही परिमार्जन गर्ने र महाधिवेशनको प्रक्रिया अघि बढाउने भन्नुभएको छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

कांग्रेस संगठन विभाग प्रमुखसमेत रहेका नेता गोपालमान श्रेष्ठले कोरोना संक्रमणको अवस्थालाई हेरेर नै महाधिवेशनबारे निर्णय हुने जानकारी दिए । ‘संक्रमणको अवस्था के कसो हुन्छ, अवस्था कसरी जान्छ, त्यहीअनुसार महाधिवेशनबारे निर्णय हुन्छ तर पूर्वनिर्धारित केही कार्यतालिका भने परिमार्जन हुन सक्छ,’ श्रेष्ठले भने ।

उनले संक्रमणको अवस्था अहिलेकै जस्तो रहँदै गए संविधानमा उल्लिखित राजनीतिक दलसम्बन्धी व्यवस्थामा टेकेर महाधिवेशन केही सर्न सक्ने संकेत गरे । ‘संक्रमणको अवस्था सहज भए पनि तोकिएकै कार्यतालिकाअनुसार अब महाधिवेशन हुन गाह्रो छ, त्यसका केही प्रक्रिया पूरा भइसक्यो । अवस्था असहज नै भइरहे संविधानअनुसार फेरि अन्तिम अस्त्र प्रयोग हुन सक्छ,’ नेता श्रेष्ठले भने ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन आगामी ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर र प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो ।

कांग्रेस विधानअनुसार पार्टीका आठ तह छन् । कांग्रेसमा बुथ तह, ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्ने व्यवस्था छ ।

तीव्र विवादबीच कार्यतालिका तय गरेको कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संगठन समायोजन गर्न नसक्दा यसअघि नै तालिका संशोधन गरेको थियो । गत फागुनमा नै कांग्रेसले संगठन समायोजन सक्नुपर्ने थियो ।

संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको प्रारम्भिक चरणको सदस्यता वितरण र नवीकरण सुरु गर्दै संगठन समायोजन काम सकेका ४० जिल्लामा नवीकरण र नयाँ वितरणका लागि पार्टी केन्द्रीय कार्यालयले सदस्यता रसिद समेत पठाइसकेकोे छ । तर, कोरोनाका कारण त्यो प्रक्रिया अघि बढ्न सकेको छैन ।

बाँकी अन्य जिल्लामा अझै संगठन समायोजनको काम सकिएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका १ सय ६५ क्षेत्रमध्ये १ सय ३५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये २ सय ७० को मात्र समायोजन काम सकिएको छ । कार्यतालिकाअनुसार समायोजनको काम गत फागुनमै सक्नुपर्ने भए पनि समायोजन नसकिएका जिल्लालाई अझैसम्म सदस्यता वितरण र नवीकरणको फाराम नै पठाइएको छैन ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार