ज्ञानसँगै रेडियो बाँड्दै रीड नेपाल

सन्तोष राउत/ सोलुखुम्बु। कोरोना कहरका कारण लामो समयदेखि भएको लकडाउनले विद्यलाय बन्द हुँदा लाखौँ विद्यार्थीहरुको पढाई अलपत्र भएको अवस्थमा सोलुखुम्बुमा पनि प्रविधिको प्रयोगबाट सिकाई भइरहेको छ । दुर्गम क्षेत्र तथा अधिकांस विपन्न विद्यार्थी भएका सोलुखुम्बुमा इन्टरनेट तथा टेलिभिजनबाट सिकाई सम्भाव नभएको परिप्रेक्ष्यमा सोलुखुम्बुमा भने रेडियोबाट सिकाई भइरहेको छ ।

सरकारले गरेको सिकाईबाट खासै लाभान्वित हुन नसकेको सोलुखुम्बुमा विगत लामो समययता जिल्लाको शिक्षाको विकासमा काम गर्दै आएको रीड नेपालले लकडाउनका कारण विद्यालय सञ्चालनमा अन्योलता भएपछि दुर्गमको प्रभावकारी साधनका रुपमा रहेको ‘रेडियोबाट सिकाई’ कार्यक्रम गरिरहेको छ । सबैसँग रेडियो नहुने भएकाले सबैलाई शिक्षाको पहँुचमा ल्याउन रीड नेपालले रेडियो वितरण शुरु गरेको जनाएको छ ।

रेडियो नभएकै कारण रेडियो कार्यक्रम सुन्न नपाएको जानकारी आएपछि सिकाइको पहुँच धेरै भन्दा धेरै विद्यार्थीलाई शिक्षा प्रदान गर्न रेडियो वितरण कार्यक्रम शुरु गरेको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बोगटीले बताउनुभयो ।

रीड नेपालले महाकुलुङ गाउँपालिकाका २० जना, सोताङ गाउँपालिकाका १५ जना, थुलुङदूधकोशी गाउँपालिकाका २० जना विद्यार्थीहरुलाई रेडियो वितरण गरिसकेको छ भने अन्य गाउँपालिकामा पनि रेडियो नहुने विद्यार्थीहरुलाई पहिचान गरेर रेडियो वितरण गर्ने योजना रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिनुभयो । संकलित तथ्यांकअनुसार १५० जनालाई रेडियो वितरण गर्ने योजना बनाएको भएपनि वृद्धि हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

लकडाउन सुरु भएपछि रीड नेपालले वैशाख २१ गतेबाट नै ‘रेडियोबाट सिकाइ’ कार्यक्रम स्थानीय एफएमबाट संचालन गर्दै आएको छ । कार्यक्रम उत्पादन तथा प्रसारणमा अस्ट्रेलियन सरकारको एनजीओ कोप्रेसन प्रोग्राम(डिएफएटी) र अस्ट्रेलियन हिमालयन फाउन्डेसनले सहयोग गरिरहेको छ ।

रेडियो पाएपछि विद्यार्थी र अभिभावकले खुसी व्यक्त गरेका छन् । सोताङ गाउँपालिकामा रहेको हुलु माविमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी मिनराज भूजेलले रेडियो पाएपछि रेडियोबाट सिकाइ निरन्तर सुन्ने बताउनुभयो । महाकुलुङ गाउँपालिका–२ स्थित पेल्माङ आधारभूत विद्यालयमा कक्षा–७ मा अध्ययनरत राकेस कुलुङ पनि रेडियो पाएपछि खुशी भएका छन् ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले सङ्कटको परिस्थितीमापनिबालबालिकालाई सिक्ने वातावरण निर्माण गर्ने रीड नेपालको कोशिसको खुलेरै प्रशंसा गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार