सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष बोलेर स्थगित भएको स्थायी कमिटी बैठकमा नेताद्वयले आ–आफ्ना गुनासा र पीडा व्यक्त गरेका छन् ।
प्रथम अध्यक्ष केपी ओलीले सरकारबाट भएका राम्रा कामको पार्टीबाट समर्थन हुन नसकेको गुनासो गर्दा द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नभएको पीडा व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिएको पार्टी स्थायी कमिटी बैठकमा दाहालले तत्कालीन माओवादी र एमालेबीच पार्टी एकताको घोषणा अघि २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्नुभएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । सम्झौता कार्यान्वयन नभएकैले दुई अध्यक्षबीच आशंका बढ्ने गरेको र पार्टीले गति लिन नसकेको उहाँको भनाइ थियो ।
०७५ जेठ ३ गते एकीकरण घोषणापूर्व तत्कालीन एमाले र माओवादी नेतृत्वबीचमा ओली र दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सहमति पालना नहुँदा प्रधानमन्त्रीलाई पार्टीले सहयोग नगरेजस्तो लागेको र मलाई उहाँ एकलौटी चलेको जस्तो लाग्ने गरेको बैठकमा दाहालले भनेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सरकारबाट राम्रै काम हुँदा पनि पार्टीबाट आशातित समर्थन नमिलेको आशय व्यक्त गर्दै आफ्ना तर्फबाट कमीकमजोरी भएको भए सुधार्दै जान तयार रहेको बताउनुभएको थियो । एकजुट नभई सरकार र पार्टीसमक्ष रहेका चुनौति सामना गर्न नसकिने उहाँको स्वीकारोक्ति थियो ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र बहुमतको खेल शुरु भएकोमा असन्तुष्टि पोख्दै गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको बताउनुभएको थियो ।
पार्टीमा अनुशासनहीनता बढेको बताउनुभएका ओलीले नेतृत्वलाई खुइल्याएर कसैको पनि कद नबढ्ने चेतावनी दिँदै पार्टी फुटाउन ल्याएको अध्यादेशको समेत बचाउ गर्नुभएको थियो । कोरोना महामारी नियन्त्रणमा सरकारले निकै राम्रो काम गरेकैले मृतकको संख्या न्यून रहेको उहाँको जिकिर थियो ।
दाहालले भने आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महशूस भएको भन्दै प्रधानमन्त्री ओलीमा अहंकार बढेको आरोप पनि लगाउनुभएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक रुपमा पेश हुनुभएका दाहालले नेतृत्वकै कारण सरकार विफल भएको निष्कर्ष पनि सुनाउनुभएको थियो ।
लामो अन्तरालमा बसेको स्थायी कमिटीमा पेश गरिएको अमेरिकी सहयोग परियोजना एमसीसीको भविष्य के हुने भन्ने यो बैठकको सबैभन्दा चासोको विषय छ । ५५ अर्ब रुपैयाँ राशिको एमसीसी परियोजना कार्यान्वयन गर्ने नगर्नेबारेमा नेकपामा निकै ठूलो अन्तरविरोध छ ।
प्रधानमन्त्री ओलीसहितका केही नेता संसदमा पुगेको एमसीसी पारित गरेर अमेरिकी अनुदान स्वीकार्दै कार्यान्वयनमा जानुपर्ने पक्षमा रहँदा अर्का अध्यक्ष दाहाल, माधव नेपाललगायत नेता भने एमसीसी नसच्चिए अनुदान स्वीकार्न नहुने मतमा छन् ।
असार १६ भित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने समय सीमारहेको एमसीसीबारे छलफल नै गर्न नदिन सभामुख अग्नि सापकोटाले असार १७ गतेसम्मका लागि बैठक स्थगित गरिदिएपछि प्रधानमन्त्री ओली रुष्ट देखिनुभएको छ ।
पार्टी नेताहरुको ईगोमा अल्झिएको अर्बौंको अनुदान रद्द हुने गरी सभामुख सापकोटाले दाहालको इशारामा षडयन्त्रपूर्वक बैठक स्थगित गराएको प्रधानमन्त्री ओली पक्षको बुझाइ छ ।
नेकपाको स्थायी कमिटी बैठक भने आगामी शुक्रबार असार १२ गते फेरि बस्ने गरी स्थगित गरिएको छ ।imagekhabar bata