काठमाडौं । केपी शर्मा ओली मुलुकका ३८ औं प्रधानमन्त्री हुन् । श्री ३ महाराज चन्द्र शमशेरले बनाएर सरकारलाई बेचेको सिंहदरबारमा पुगेर शासन चलाउन पाउने पछिल्ला भाग्यशाली शासक हुन् ओली । सत्ताको शक्ति प्रयोग/दुरुपयोग गर्न पाउने अधिकारका दृष्टिले पनि ओली बिरलाकोटीका शासकमा पर्दछन् । जंगबहादुरझै सत्ता र शक्ति प्रयोगको एकलौटी अधिकार पाउनेमा ओली अर्का हुन् । अझ जनताबाट चुनिएर सत्ता सम्हाल्न पुग्नेहरुमा उनले जत्तिको अधिकार प्रयोग गर्ने अवसर अरु कमैले पाए ।
दूर्भाग्यचाहिँ सिंहदरबारमा प्रवेश गरेपछि सवार हुने भूत हो । ‘म नै राज्य हूँ’ भन्ने भ्रमले त्यहाँ पुग्नेहरु ग्रसित हुने र अन्त्यमा असफलताको ताज भिरेर फर्किनेमा सबैजसो सत्ताधारी छन् । सिंहदरबारको सत्ताको साँचो केही दर्जन बिचौलिया, ठेकेदार, माफिया र दलालको हातमा रहेको छ । यो पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै कालमा समान रुपमा जिवित छ । तिनीहरुको नियन्त्रणमा रहेको शासन, सत्ता र शक्ति तोड्न नसक्ने बरु अन्तिममा तिनैको बुख्याँचा चालक बनेर निस्कने नियतिमा शासकहरु रहिआएको छ । गणतन्त्रका एक मात्र शक्तिशाली शासक आँकिएका ओली पनि यही नियतिमा डोरिदै छन् ।
वैधभन्दा अवैध शासकको डोरीमा रिङ्ने सिंहदरबारमा ओलीको शासन कालमा उनकै कार्यालयदेखि उनले इच्छाएका मन्त्रीहरु पनि यस्तै ‘लाठ साहेब’को घेराका बन्दी भइरहेका छन् । कुनै बेला राणा शासनकालमा बैध शासनाधिकार नरहेको तर श्री ३ महाराजबाट रुचाइएका ‘लाठ साहेब’हरुको बिगबिगी थियो । उनीहरु देखिन्नथे तर सत्ताको गुह्य उनीहरुमै रहन्थ्यो । श्री ३ महाराजपछि कमाण्डिङ इन चिफमा रोलवाला राणाजी भर्ती हुन्थे । त्यसपछिको शक्तिमा चार दिशा हेर्ने कमाण्डिङ जर्नेल हुन्थे ।
चारै दिशाका लागि एक/एक जर्नेल छुट्टयाइन्थ्यो । पूर्वतर्फको मामला हेर्न पूर्वी कमाण्डिङ जर्नेल अर्थात् पूकज, पश्चिमतर्फको मामला हेर्न पश्चिम कमाण्डिङ जर्नेल अर्थात् पकज, दक्षिणतर्फको मामला हेर्न दक्षिण कमाण्डिङ जर्नेल अर्थात् दकज र उत्तरतर्फको मामला हेर्न उत्तर कमाण्डिङ जर्नेल अर्थात् उकजको जिम्मेवारी दिइएको हुन्थ्यो । यिनको रवाफ र दकच पनि उत्तिकै हुन्थ्यो । यीभन्दा मुनितिर हुन्थे । लाठ साहेबहरु । उनीहरु कमाण्डिङ जर्नेल जत्तिका शक्तिशाली त देखिन्नथे तर श्री ३ का खास प्रिय मानिसलाई यसमा भर्ती गरिने भएकाले उसको पहुँच खोपीसम्म हुन्थ्यो । कतिपय अवस्थामा यिनले दिने सूचना र सल्लाहमा श्री ३ निर्भर पनि रहन्थे ।
पछिल्लो प्रजातन्त्र÷गणतन्त्रकालमा पनि यस्तै बैध शासनाधिकार नरहेका तर प्रधानमन्त्री, मन्त्रीलाई प्रभाव र सूचनाको गुमराहमा राख्न सफल लाठ साहेबहरु सल्लाहकारको भेषमा बिगबिगी देखिन थालेका छन् । हालै मात्र स्वास्थ्य मन्त्रीको लाठ साहेबमा नियुक्त भएका डा. खेम कार्कीले मच्चाएको ताण्डव एकपछि अर्को गर्दै खुल्दैछ । प्रधानमन्त्रीका सूचना तथा प्रविधि विज्ञको पदवी भिरेका अस्गर अलीले सिंहदरवारको सारा डाटामाथि एकलौटी कब्जा जमाएर आफ्नो कम्पनीको स्वार्थमा कसरी लगाइरहेका छन् भन्ने त पटक पटक सार्वजनिक भइसकेकै छ । स्वास्थ्यका लाठ साहेबले त अधिकार नै नभएको अवस्थामा पनि खरिद प्रक्रियामा संलग्न रहने, निर्णय गर्ने, विज्ञप्ति प्रकाशित गर्नेसम्म गर्न भ्याए । यो चर्तिकला अरु मन्त्री र सार्वजनिक संस्थाहरुमा राखिएका कथित सल्लाहकार नामका लाठ साहेबबाट उत्तिकै दुरुपयोग भइरहेकै छ ।
कानूनले अधिकार दिएका र सही गलतबारे बोल्नुपर्ने सरकारी कर्मचारीहरु त यी लाठ साहेबहरुका अघिल्तिर हुँच्चिलले नाघेको बिरालो झै निरीह बन्न विवश छन् । कर्तव्यबोध नभएका र जागीरका लागि जे मा पनि हो मा हो मिलाउने झुण्डका रुपमा परिणत भएका यिनै नोकरशाहहरुका कारण पनि अधिकारविहीन लाठ साहेवहरुको बिगिबगी जताततै चुलिँदो छ । यी लाठ साहेबहरुको काम भनेको तिनै बिचौलिया, ठेकेदार, माफिया र दलालको वरिपरी घुम्ने, अधिकारयुक्त मन्त्री र कर्मचारीलाई लोभको पासा मिल्काउने र राज्यकोषको दोहन गर्नुरहेको छ । यस्ता हरिया झिंगाबाट शासक/प्रशासकहरु नजोगिने हो भने जुनसुकै तन्त्र पनि अन्ततः निकम्मासिद्ध हुनेछ । चेतना भया !!! source: Imagekhabar.com