‘प्रधानमन्त्री ओली कुर्सी मोह र त्रसित मानसिकताबाट ग्रस्त’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भएपनि त्यो असम्भव रहेको उद्घोष गर्नुभएको छ ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतसमेतको संलग्नतामा षड्यन्त्र भएको दाबी गर्दै ओलीले आफू पदबाट हटाइए नेपालको पक्षमा बोल्ने कोही नरहने जिकिरसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यस्तो बोल्दै गर्दा त्यसले केही गम्भीर प्रश्नहरु उब्जाएको छ । के नेपालमा देशको माया गर्ने ओलीबाहेक अरु कोही छैन ? अथवा के नेपालको सत्ता त्यति कमजोर छ, जुन भारतीय दूतावासको चलखेलबाटै पल्टिने र बन्ने गर्छ ?

आइतबार मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गर्नुभयो ।

उहाँले आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्दा भारतीय पक्ष आफूलाई हटाउन सक्रिय रहेको र आफू हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे नै नहुने बताउनुभयो ।

नक्सा जारी भएपछि संसद र जनस्तरबाट सरकारले ठूलो समर्थन पाएको हो । ओलीको अभिव्यक्तिले जनता र संसदले देखाएको त्यो ऐक्यबद्धताको अवमूल्यन त गर्दैन ?

राजनीतिक विश्लेषक हरि रोक्का भने ‘सबै नेपालीको सहयोग र संसदमा सबै सांसदहरुको सहयोगमा भारतबाट अतिक्रमित भूमि संविधानमा समावेश गरिएकाले ओलीले केवल आफ्नो बुतालेमात्रै संविधान संशोधन भएको भन्नु उहाँको अल्पज्ञान हो’ भन्नुहुन्छ ।

त्यसो त वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले शनिबारको स्थायी समिति बैठकमा महाकाली सन्धि राष्ट्रघात भएको र त्यतिबेला सीमा नदीको उद्गमस्थल कहाँ हो भनेर टुंगो लगाऊँभन्दा आफूलाई कारबाही गरी पार्टी विभाजित भएकाले अहिले विगतमा पार्टीले गरेको गल्तीलाई विचार गरी आफूलाई न्याय दिनसमेत आग्रह गरेका छन् ।

काली नदीको मुहान नै निर्क्योल नगरी भारतसँगको वार्तामा तम्सिनुभएका ओलीले नयाँ नक्साका लागि सम्पूर्ण जस आफू लिनेभन्दा आफ्नो पुरानो गल्तीलाई सच्याउनु उत्तम हुने बताउनुहुन्छ, विश्लेषक रोक्का ।

त्यसो त गत बुधबारको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध पार्टीभित्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमै घेराबन्दी भइरहेको अभिव्यक्ति दिनुभएको थियो ।

स्थायी समिति तथा सचिवालयमा समेत अल्पमतमा रहनुभएका ओलीले आइतबार आफूलाई हटाउने खेल दिल्ली र भारतीय दूतावास तथा होटलमा भइरहेको भन्नु त्रसित मानसिकताको उपज भएको रोक्काको ठहर छ ।

प्रधानमन्त्री ओलीमा कुर्सीको मोह रहेको र बहुमतको सरकार हुँदापनि पद जोगाउन पार्टीभित्रबाटै सकस परेको भन्ने उहाँको अभिव्यक्तिले प्रष्ट पारेको छ ।

तर, कार्यकारी प्रमुखबाट यस्ता कमजोर अभिव्यक्ति आउँदा देशको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ भन्ने ख्यालसमेत नहुनुचाहिँ विडम्बना नै हो । यज्ञराज पाण्डे (इमेज)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार