सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो जनाएका हुन् ।
उनले पत्रकारहरुसँग कुरा गर्दै भने,’अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’ आजको स्थायी कमिटीमा केशव बडाल र अमृत बोहराले धारणा राखेका थिए। उनले स्थायी कमिटी बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको बताए।
त्यस्तै, उनले अध्यादेश ल्याउन लागेको हो भन्नेबारे बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएको पनि स्पष्ट पारेका छन् । श्रेष्ठले सुनाए,‘उहाँ अध्यादेश आउँछ कि आउँदैन भनेर छलफल गर्न शितल निवास जानुभएको हो। राष्ट्रपति र प्रधानमन्त्री दुबैले अध्यादेश आउँदैन भन्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँगको समझदारी विपरित नै संसदको बजेट अधिवेशन अन्त्य गरेको पनि उनले सुनाए ।reportersnepal.com/तस्विर : प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेशबुक