देशभर कोरोना संक्रमणको रफ्तार बढ्दै जाँदा काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढिरहेको छ ।
संक्रमण फैलिएको तीन महिनासम्म निकै कम संख्यामा संक्रमण देखिएको उपत्यकामा हाल दिनहुँजसो संक्रमित फेलापर्न थालेका छन् । जसले अब काठमाडौं उपत्यका नयाँ ‘हटस्पट’ बन्ने हो कि भन्ने देखिएको छ ।
नेपालमा कोरोना संक्रमण फैलिनेक्रम जिल्लाअनुसार फरक–फरक छ ।
केही समयअघि हटस्पट बनेका जिल्लाहरुमा संक्रमित घट्दै गएका छन् भने नयाँ स्थानमा संक्रमितको संख्या बढ्दैछ । जसले संक्रमण कुन गतिमा गइरहेको छ, अब के हुन्छ ? भन्न नसक्ने अवस्था देखिएको छ ।
संक्रमण देखिएको तीन महिनासम्म संक्रमितको संख्या निकै कम रहेको काठमाडौं, भक्तपुर र ललितपुरमा हाल दिनहुँजसो संक्रमित थपिँदै गएका छन् । जसले अब कोरोनाको जोखिमयुक्त क्षेत्र काठमाडौं उपत्यका बन्नसक्ने संकेत देखाएको विज्ञहरु बताउँछन् ।
असार १५ गते उपत्यकामा आठजनामा संक्रमण देखिँदा असार १६ गते नयाँ १७ जना संक्रमित थपिए । यसले अब दिनहुँ संक्रमण बढ्नसक्ने अवस्था देखाएको छ ।
जनस्वास्थ्यविद् डा. शरद वन्त जिल्लाबाहिरबाट आउने मानिसहरुको संख्या बढेसँगै काठमाडौंमा संक्रमण बढी देखिन थालेको बताउनुहुन्छ ।
उपत्यकामा बढिरहेको चहलपहल र स्वास्थ्य सावधानीमा देखिएको लापरबाहीले अबका दिन थप जोखिमयुक्त बन्ने संकेत देखाएको डा. वन्तको भनाइ छ ।
उपत्यकामा भक्तपुर र ललितपुरमध्ये काठमाडौंमा बढी संक्रमित भेटिएका छन् । उपत्यकामा संक्रमितको संख्या बढ्दैछ । भिडभाड पनि बढिरहेको छ ।
संक्रमण समुदायस्तरमा नै गइसक्यो भन्ने आधारहरुसमेत फेलापरेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
‘लकडाउन लुजडाउन’ भएसँगै जोखिमसमेत बढाएकाले सतर्कता नअपनाउँदा संक्रमण तीव्रगतिमा फैलनसक्ने डा. वन्त बताउनुहुन्छ ।
लकडाउनलाई खुकुलो पार्नु भनेको संक्रमणको जोखिम छैन भन्ने हिसाबबाट नसोच्न उहाँको आग्रह छ ।
नेपालमा पछिल्लो समय संक्रमण दिनानुदिन बढेको छ । तर, सुरक्षा सावधानी अपनाउन भने कमजोरी पनि बढ्दो छ ।
सहर–बजारमा मानिसको चहलपलह हेर्दा यस्तो लाग्छ, कोरोना संक्रमणको जोखिम हटिसक्यो ।
तर, हेक्का राख्नुपर्ने कुरा के हो भने यस्तै असावधानीका कारण यूरोपेली मुलुकहरु संक्रमणको चर्को मारमा परेका थिए ।
त्यसैले संक्रमणको जोखिमलाई गम्भीरतापूर्वक लिएर सावधानीपूर्वक दैनिक क्रियाकलप अघि बढाउनु नै बुद्धिमानी ठहरिन्छ । प्रज्ञा तिमल्सिना (इमेज)