हिमशिखर समाचारदाता/ सोलुखुम्बु । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रिय सदस्य तथा युवा पर्यटन व्यवसायी सनम शेर्पाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण नेपालको पर्यटन व्यवसाय ठप्प भएपछि मारमा परेका पर्यटन व्यवसायी तथा पर्यटन मजदुरहरुलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका तर्फबाट टानको सदस्यमा निर्वाचित सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिका ३ का पर्यटन व्यवसायी शेर्पाले राजधानीमा भएको एक कार्यक्रममा बोल्दै कोरोनाका कारण सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई सरकारले विशेष योजना ल्याएर सम्बोधन गर्दै पर्यटन व्यवसायबाट जीविकोपार्जन गर्ने मजदुरलाई नेपाल पर्यटन बोर्डमार्फत राहत दिनुपर्ने उहाँको माग छ ।
पर्यटन क्षेत्रमा काम गर्ने कतिपय मजदुरहरुलाई अहिले परिवार धान्न समेत धौ धौ भएको उहाँको भनाइ छ । सिजनमा कमाएर वर्षभरी परिवार पाल्नुपर्ने मजदुरलाई समस्या भएको शेर्पाले बताउनुभयो ।
अर्को फरक प्रसंगमा काँग्रेस नेता समेत रहनुभएका शेर्पाले सोलुखुम्बुका काँग्रेस नेताहरु बलबहादुर केसी र आङगेलु शेर्पा एक हुनुको विकल्प नभएको जिकिर गर्नुभयो । दुवै जनाको आफ्नै अडानका कारण देखिएको फरक गुटका कारण गएको निर्वाचनमा सोलुखुम्बुमा कमजोर उपस्थिती भएको स्किार्दै एक भएर आगामी दिनमा सोलु काँग्रेसलाई बलियो बनाउनु पर्ने उहाँँको सुझाव छ । शेर्पा हाल काठमाण्डौ क्षेत्र नं. ४ को कपनमा बस्दै युवा नेता गगन थापासँग पनि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ ।